मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई मिठाईको विवरण अनिवार्य रूपमा खुलाउन निर्देशन

काठमाडौं, ३१ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई मिठाईको विवरण अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।
विभागले शुक्रबार सार्वजनिक गरेको पत्र अनुसार अब मिठाई तयार गरी बिक्री वितरण गर्ने व्यवसायीलाई आफूले उत्पादन गरेका मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, मुख्य सामग्री तथा तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नु पर्ने छ ।
मिठाई पसल, होटल तथा मिठाई भण्डारलगायतका व्यवसायले उपभोक्ताले सजिलै देख्न र जानकारी लिन सक्ने गरी बिक्रीस्थलमा उक्त विवरण राख्नुपर्नेछ । यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईको गुणस्तर, प्रयोग गरिएका सामग्री, उपभोग्य अवधि र मूल्यबारे जानकारी पाउने विभागको दावी छ ।
नयाँ व्यवस्था आगामी ११ कात्तिक देखि लागू हुने भन्दै जारी सूचनामा तोकिएको मिति भन्दा पछि अटेरी गरेको खण्डमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।
त्यसैगरी, विभागले सम्बन्धित कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्थाका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत जानकारी गराएको छ।
विभागको यो निर्देशनले मिठाईको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न, उपभोक्ताको अधिकार संरक्षण गर्न तथा खाद्य पदार्थको सुरक्षित उपभोगलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मिठाई व्यवसायीले बिक्रीस्थलमा अनिवार्य रूपमा खुलाउनुपर्ने विवरण:
- मिठाईको नाम
- मुख्य सामग्री
- प्रयोग गरिएको तेल वा घिउको प्रकार
- उपभोग गर्न सकिने अन्तिम मिति
- प्रतिकिलो मूल्य
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




