आज विश्व हात धुने दिवस: झण्डै १४ प्रतिशत नेपालीको घरैमा साबुन पानीसहित हात धुने सुविधा छैन
काठमाडौँ, २९ असोज । आज अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। साबुनपानीले हात धुने बानीको विकास गर्दै संक्रमणजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आज विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
हात धुने सामान्य बानीले पनि विभिन्न रोगबाट बच्न मद्दत गर्ने भएकाले व्यक्तिगत सरसफाइ र जनस्वास्थ्यका क्षेत्रमा यस दिवसलाई महत्त्वपूर्ण रूपमा लिने गरिन्छ।
विश्व हात धुने दिवसको यसवर्षको नारा ‘हात धुने नायक बनौँ’ भन्ने रहेको छ। यसले बालबालिका, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका सबै सदस्यलाई साबुनपानीले नियमित हात धुने बानी अपनाउन र अरूलाई पनि प्रेरित गर्न आह्वान गर्छ।
तर, हातको सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने सन्देश फैलाइरहँदा नेपालमा अझै पनि सबै जनसंख्याको घरमा साबुनपानीसहित हात धुने सुविधा उपलब्ध नभएको तथ्यांकले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालय र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ अनुसार नेपालमा ८६.४ प्रतिशत जनसंख्या बसोबास गर्ने घरमा पानी र साबुन वा डिटर्जेन्टसहित हात धुने सुविधा उपलब्ध छ। यसअनुसार बाँकी १३.६ प्रतिशत जनसंख्या बसोबास गर्ने घरमा यस्तो सुविधा उपलब्ध भएको देखिँदैन।
यसले नेपालमा हात धुने सुविधा विस्तारसँगै सरसफाइसम्बन्धी व्यवहार सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँछ। घरमा हात धुने सुविधा उपलब्ध हुनु र मानिसले हरेक पटक सही तरिकाले हात धुनु फरक विषय भएकाले सुविधा विस्तारसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिन आवश्यक छ।
हात धुन किन आवश्यक ?
हात फोहोर हुँदा विभिन्न जीवाणु तथा भाइरस शरीरमा प्रवेश गर्न सक्छन्। साबुनपानीले हात धुँदा यस्ता रोगजनक सूक्ष्मजीव हटाउन मद्दत पुग्छ र झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिम कम गर्न सकिन्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि हातको सरसफाइ महत्त्वपूर्ण हुन्छ।
विश्व स्वास्थ्यसम्बन्धी निकायहरूले पनि हातको सरसफाइलाई संक्रमण रोकथामको प्रभावकारी उपायका रूपमा जोड दिँदै आएका छन्। घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानमा साबुन र पानीको सहज उपलब्धता सुनिश्चित गर्न सके हात धुने बानीलाई व्यवहारमा उतार्न सहज हुन्छ।
स्वास्थ्य सुरक्षाका लागि खाना खानुअघि र खाना तयार गर्नुअघि, शौचालय प्रयोग गरेपछि, बच्चाको दिसा सफा गरेपछि तथा खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने स्राव छोएपछि साबुनपानीले हात धुनुपर्छ। हात धुँदा सफा पानी र साबुन प्रयोग गरी कम्तीमा २० सेकेन्डसम्म हत्केला, हातको पछाडिको भाग, औँलाबीच, नङ वरिपरि र बूढीऔँलासमेत राम्ररी मिच्नुपर्छ। त्यसपछि सफा पानीले पखालेर हात सुकाउनुपर्छ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




