त्रिपुरेश्वरमा जलेका गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने योजना स्थगित

काठमाडौँ, २६ असार । त्रिपुरेश्वरमा हिजो आत्मदाहको प्रयास गरेका सोरु गाउँपालिका–१ मुगुका २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने योजना तत्कालका लागि स्थगित गरेको जनाएको छ । अहिले उनको वीर अस्पतालमा उपचार भईरहेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार सुरुमा उपचारमा सम्लग्न चिकित्सकहरुले भारतको दिल्लीस्थित एम्स अस्पताल लैजान सुझाव दिएका थिए । तर पछि स्वास्थ्यमा थप जटिलता देखिएपछि सो प्रक्रिया रोकिएको हो ।
‘अहिले उनको अवस्था थप क्रिटिकल भएको छ, वर्न आईसीयूमा राखिएका उनलाई भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ,’ उपचारमा सम्लग्न चिकित्सकलाई उदृत गर्दै सचिवालयले भन्यो, ‘यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने देखिएपछि तत्काल भारत लैजाने योजना स्थगित भएको हो ।’
चिकित्सकहरूले पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् ।
यसअघि बिहीबार राती गृहमन्त्री सुदन गुरुङ सहितको टोली वीर अस्पताल पुगेर थप उपचारका लागि भारत लैजाने तयारी गरेको बताइएको थियो । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च वेहोर्ने जनाएको थियो ।
बिहीबार दिउँसो ३ बजे तिर वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका नेपालीको शरीर ५५ प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राडा। रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको उपचारमा खटिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

