त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई थप उपचारका लागि एम्स लैजाने तयारी, खर्च सरकारले बेहोर्ने

काठमाडौँ, २६ असार । नेपाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ एम्स लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू आजै वीर अस्पताल पुगेका छन् । उनीहरुले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।
चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्रीद्धयले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको विशेष पहलमा नेपालीलाई थप उपचारका लागि भारत लैजाने यो सम्पूर्ण प्रक्रिया अघि बढाइएको हो । यसका लागि आवश्यक सबै व्यवस्थापकीय र प्राविधिक पक्षको अन्तिम तयारी तथा सम्पूर्ण समन्वय प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले नै गरिरहेका छन् ।
यस सम्बन्धमा प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन्, यो नयाँ कदम होइन, कानुन कार्यान्वयन गरिएको कुरा हो । र, यसले निरन्तरता पाउनुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता हो ।ू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको र खर्चका कारण उपचारमा कुनै समस्या हुन नदिइने स्पष्ट पारेको सचिवालयले जनाएको छ ।
घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ भने प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा र उद्धारका कार्यहरूलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको रहेको समेत उल्लेख गरिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

