केडीसीसंगको सहकार्यमा ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यको ‘स्क्रिनिङ’ गर्दै रोटरी

काठमाडौं, १८ असार । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ (नेपाल-भुटान) च्याप्टर बालबालिकाको मुख स्वास्थ्य अभियानमा फेरी अघि सरेको छ । रोटरी डिजिज प्रिभेन्सन एण्ड ट्रिटमेन्ट कमिटिले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर (केडीसी) र बीएम फाउण्डेसनसंग सहकार्य गर्दै ‘५०,००० स्माइल्स नेपाल’ अभियान सञ्चालन गर्न लागेको हो ।
बुधबार रोटरीमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक -३२९२ का डिस्ट्रिक गर्भनर रोटरियन विष्णुबहादुर कार्की, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठ, रोटरी क्लव अफ काठमाडौँ नर्थका पूर्व अध्यक्ष समेत रहेका बीएम फाउण्डेशनका अध्यक्ष फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र रोटरीको डिजिज प्रिभेन्सन एण्ड ट्रिटमेन्ट कमिटि संयोजक दिनेशकुमार श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार यस अभियान १ जुलाई २०२६ देखि देखि ३१ जुन २०२७ सम्म को अवधीमा देशका २५० बढी विद्यालयमा पुगेर मुख स्वास्थ्य परीक्षण, तथा मुख स्वास्थ्य प्रवर्द्धन गर्दै ५० हजार बालबालिकाको ‘स्वस्थ मुस्कान’ सुनिश्चित गर्ने उदेश्य राखिएको छ ।
“Creating lasting Impact Through School Oral Health” भन्ने नारासहित सञ्चालन हुने यस अभियानले नेपालभरका ग्रामीण तथा शहरी विद्यालयका विद्यार्थीलाई मुख स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्य लिएको छ।
यस अभियानमा के के हुन्छ ?
रोटरीको डिजिज प्रिभेन्सन एण्ड ट्रिटमेन्ट कमिटिका सदस्य समेत रहेका फाउण्डेशनका अध्यक्ष डा श्रेष्ठले अभियान अन्तर्गत विद्यालयमै पुगेर मुख परीक्षण, सही तरिकाले दाँत माझ्ने अभ्यास,मुख रोगको रोकथाम केन्द्रित हस्तक्षेप, आवश्यक परे उपचारका लागि रिफरल तथा समुदायमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरिने बताए ।
उनले यस कार्यक्रममा १ हजारभन्दा बढी शिक्षक, २५० भन्दा बढी विद्यालय तथा ५०० भन्दा बढी स्वयंसेवकलाई समेटिने जानकारी दिए । यसले विद्यालय तहमा मुख स्वास्थ्यबारे दीर्घकालीन सकारात्मक व्यवहार विकास हुने अपेक्षा गरेको समेत बताए ।
कसरी सञ्चालन हुन्छ अभियान ?
अभियानले विभिन्न साझेदारीका अवसरसमेत खुला गरेको छ। विद्यालय प्रायोजन, १ हजार बालबालिकाको प्रायोजन, जिल्ला स्तरको साझेदारी तथा अन्तर्राष्ट्रिय रोटरी साझेदारीमार्फत अभियानलाई विस्तार गरिने जनाइएको छ। इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक तथा अन्य सहयोगमार्फत अभियानमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
अभियानका परियोजना संयोजक रोटेरियन डा. श्रेष्ठका अनुसार विद्यालयस्तरमै मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गरी बालबालिकामा दाँत तथा मुखसम्बन्धी रोगको प्रारम्भिक पहिचान, रोकथाम र समयमै उपचार सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य हो। यसले बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको सिकाइ र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
फाउण्डेशनले सरकारी तथा सरोकारवाला निकाय, स्वास्थ्य संस्था, विद्यालय, दातृ निकाय र समुदायसँगको सहकार्यमा अभियानलाई सफल बनाउन सबै पक्षलाई साथ दिन आग्रह गरेको छ।

यसअघि पनि सञ्चालन गरिएको थियो मुख स्वास्थ्य अभियान
डा. श्रेष्ठका अनुसार सन् २०२४ २५ मा राजेन्द्र ध्वजु रोटरी आरआई डिस्ट्रिक ३२९२ को गर्भनर हुँदा पनि बालबालिकाको मुख स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको थियो । त्यसबेला केडीसी र फाउण्डेशनको सहकार्यमा रोटरीले सञ्चालन गरेको अभियानमा २४ वटा निजी सहित ९० वटा विद्यालय समेटिएको थियो । त्यसबेला २७ हजार ५४८ जनाको परीक्षण गर्दा ७३ प्रतिशत बालबालिकाको मुखमा किराले खाने समस्या देखा परेको थियो । सोही अवस्थालाई मध्येनजर गर्दै रोटरीले यसपटक अझ ठूलो स्केलमा अभियान सञ्चालन गर्न लागेको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

