पद सम्हालेको अढाई महिना पछि सञ्चारकर्मीसंग साक्षात्कारमा स्वास्थ्य मन्त्री मेहता: ‘अढाई घण्टा सुनिन्, अढाई मिनेट बोलिन्’

काठमाडौँ, २४ जेठ । अढाई महिना अघि (१३ चैतमा) स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पहिलो पटक आइतबार स्वास्थ्य बीटका सञ्चारकर्मीसंग झण्डै अढाई घण्टा विताईन ।
त्यस अवधीमा उनले सञ्चारकर्मीको प्रश्न, गुनासो र सुझाव धैर्यतापूर्वक सुनिन् तर आफूले जवाफ दिने क्रमलाई उनले अढाई मिनेटमै सिध्याइन ।
स्वास्थ्यमा जिम्मेवारी सम्हालेको लामो समयसम्म स्वास्थ्य बिटका सञ्चारकर्मीसंग भेटघाट नगरेकी मन्त्री मेहताले आज राखेको साक्षात्कार कार्यक्रमलाई अर्थपूर्ण रुपमा लिइएको छ । यद्धपी उनले सरकारका सय दिने कार्यक्रममा आफू ‘फोकस’ हुँदा सञ्चारकर्मीसंग साक्षात्कार गर्न नपाएको सुनाईन ।
‘प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको थिएँ, अहिले हामी सरकारका प्राथमिकतामा परेका कार्यहरू कार्यान्वयनमा केन्द्रित छौँ,’ उनले अगाडी थपिन्, ‘हामीले शासकीय सुधारका सय वटा कार्यसूची कार्यान्वयनमा ध्यान दिइरहेका छौँ, मन्त्रालयभित्र सुधार गर्नुपर्ने धेरै क्षेत्र छन्, ती सबैलाई क्रमशः प्रभावकारी रूपमा अघि बढाइनेछ।’
उनले अबदेखि प्रत्येक १५–१५ दिनमा यस्ता अन्तरक्रिया कार्यक्रम गर्ने प्रतिबद्धता जनाइन्।
‘हामीले यस्तो छलफल पहिले नै गर्नुपर्ने थियो, तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा समय व्यवस्थापन हुन सकेन,’ उनले भनिन्, ‘अब नियमित रूपमा यस्ता संवाद गर्नेछौँ।’
कार्यक्रमको अन्त्य तिर सञ्चारकर्मीहरुले मन्त्री मेहतालाई ‘पदबाट विदा हुन खोजेको हो ?’ भनेर प्रश्न सोधेका थिए । जवाफमा उनले पदबाट विदाका विषयमा कुनै पनि आधिकारिक निर्देशन नआएको स्पष्ट पारेकी छन्। ‘मैले पनि समिडियामार्फत आएका समाचार मात्रै सुनेको जानकारी दिदै भनिन्, मिडियामा आएको कुरा भएकाले तपाईंहरूलाई नै बढी थाहा होला। त्यस्तो कुनै आधिकारिक कुरा होइन।’
कार्यक्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न विभिन्न नीतिगत सुधार अघि बढाइएको जानकारी दिए।
उनले स्वास्थ्य क्षेत्रका दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि सुधार कार्यक्रम अझ प्रभावकारी रूपमा कार्यान्वयन हुने बताए।
‘अस्पताल सुधार, औषधि व्यवस्थापन र सेवा गुणस्तर अभिवृद्धिका लागि नीतिगत काम अघि बढाइएको छ,’ सचिव देवकोटाले भने, ‘आगामी वर्षदेखि यी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा लागू गरिनेछ।’
मन्त्रालयकी प्रवक्ता यशोदा अर्यालले मन्त्रालय र सञ्चारकर्मीबीच सहज सूचनाको व्यवस्था मिलाइने आश्वासन दिदै भोलीबाट नै त्यसको संकेत आउने ठोकुवा गरिन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

