‘एनएमए कन-२०२६’ चितवनमा सुरु

28
Shares

चितवन, १६ जेठ । नेपाल चिकित्सक संघले आयोजना गरेको अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन – २०२६’ यहाँ शुरु भएको छ । संघले आफ्नो ३० औं सम्मेलन भरतपुरस्थित वीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालको सभा हलमा शनिबार विहान देखि शुरु गरेको हो ।

संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका बिशेषज्ञ चिकित्सकहरु, नर्स, स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी छन् । साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

संघका चितवन जिल्ला सचिव डा। महेन्द्र अग्रहरीका अनुसार प्यानल छलफल शुरु भएको छ । तीन वटा सभाकक्षमा छुट्टाछुट्टै छलफल भएको उनले जानकारी दिए । सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण साथै रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण गरिएको छ ।

शनिबार विहानैबाट कार्यक्रम सुरु भए पनि औपचारिक उद्घाटन भने आईतबार बिहान मात्रै हुनेछ । सोही दिन साँझ सम्मेलनको समापन गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा देशभरबाट ३५० जना सहभागी रहेका छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको डा. कार्कीले बताए ।

हरेक दुई – दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीन-तीन वर्षमा गर्न थालिएको छ ।

यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागत सम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।

सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रीयत रहेर वैज्ञानिक सत्रहरु शुरु भएका छन् ।

संघले आइतबार नव निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गत महिना सम्पन्न निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्ष, डा. विश्वराज दवाडी महासचिव रहेको नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *