चिकित्सक संघ निर्वाचन मतगणना जारी, अध्यक्ष पदमा डा. मंगलको अग्रता

काठमाडौँ, २० बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत अहिलेसम्म १ हजार ६७३ मतको गणना सकिएको छ । प्राप्त नतिजा अनुसार अहिले पनि अध्यक्ष पदमा डा मंगल रावलले अग्रता कायम राखेका छन् ।
उनी ७६८ मतका साथ अग्रता लिई रहँदा दोस्रो स्थानमा डा बद्री रिजालले ६८९ मतका साथ पच्छ्याई रहेका छन् । तेस्रो स्थानमा रहेका डा नारायणप्रसाद भुसालले १९७ मत प्राप्त गरेका छन् ।
बरिष्ठ उपाध्यक्ष पदमा डा कीर्तिपाल सुवेदीले ७०० मतका साथ अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा डा सञ्जीव तिवारीले ६४० मत र तेस्रो स्थानमा डा अजयकुमार मिश्रले २३८ मत प्राप्त गरेका छन् ।
यस्तै महासचिव पदमा डा कालुसिंह खत्री ५९८ मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानमा ५७१ मतका साथ डा विश्वराज दवाडी र तेस्रो स्थानमा ४१५ मतका साथ डा अमृत भुसाल रहेका छन् ।
सात प्रदेशका उपाध्यक्ष तर्फ कोशीमा डा रोशन खड्का, मधेशमा डा अमित रञ्जन मिश्र, बागमतीमा डा सुवास भट्टराई, गण्डकीमा डा यज्ञराज सिग्देल, लुम्बिनीमा नन्दाकुमारी गुरुङ, कर्णालीमा डा रविन खड्का र सुदूरपश्चिममा डा प्रमोद जोशी अग्रस्थानमा छन् ।
अहिले उपत्यका बाहिरका पोखरासहित त्यसबाट पश्चिम तिरका मतदान केन्द्रहरुको गणना सम्पन्न भएको बताइएको छ । अहिले भृकुटीमण्डपस्थित नेपाल चिकित्सक संघ भवनको छैटौं तल्लामा ५ वटा समूह बनाएर मतगणना भइरहेको छ ।
मतगणना अपडेटका लागि यहाँ क्लिक गर्नुहोला
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

