सात दिनमा रिपोर्ट दिनु भन्ने समितिलाई १० दिनसम्म कार्यादेश नै दिइएन

काठमाडौँ, ७ बैशाख । औषधी व्यवस्था विभागका तत्कालिन महानिर्देशक नारायणप्रसाद ढकालले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बढाएको भन्ने आरोपको सम्वन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन दिने समय गुजारेको तीन दिन भईसक्यो ।
तर, उनीहरुलाई काम सुरु गर्नु भनेर अहिलेसम्म कार्यादेश उल्लेख भएको पत्र दिइएको छैन । पत्र नै नपाएपछि उनीहरुले आजको दिनसम्म छानविनको काम अघि बढाएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत २७ चैतमा औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले ‘प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बढाएको हो होईन ? ’ भनेर छानविन गर्न अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेकी थिईन । उक्त समितिमा मन्त्रालयकै कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञको रुपमा रुपन्देहीका कविन मलेगुलाई सदस्य तोकिएको थियो ।
सो समितिलाई ७ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको थियो । सो अनुसार समितिले छानविन गरी गत शुक्रबार नै प्रतिवेदन बुझाई सक्नु पर्दथ्यो ।
समितिका संयोजक डा. श्रेष्ठले आफूलाई पत्र आई नपुगेको बताए । ‘समिति गठन त भयो तर हामीलाई टिओआर सहितको पत्र त आउनु पर्यो, त्यो आउन बाँकी नै छ । त्यसैले काम अघि बढ्न सकेको छैन,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्मा भने यस विषयमा स्पष्ट जवाफ दिन चाहेनन् । ‘तपाईँहरुले रिपोर्ट बारे थाहा पाउनु हुन्छ । हामीले सिस्टमेटिक रुपमा सबै कुरा सार्वजनिक गर्ने छौँ,’ उनले भने ।
‘सात दिन म्याद दिइएको समितिलाई १० दिनसम्म किन पत्र नदिइएको ?’ भन्ने प्रश्नमा पनि उनले जवाफ दिन चाहेनन् ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट छानविन समितिकै विषयमा थप पुनरावलोकन गर्ने कि भनेर होल्ड गरिएको छ ।
यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रालय बाहिरबाट स्वतन्त्र विज्ञलाई राखेर समिति गठन गरी रिपोर्ट तयार गर्ने व्यवस्था मिलाउनु भन्ने निर्देशन दिएको थियो । तर मन्त्रालयले निर्देशन अवज्ञा जस्तै गरयो । फल स्वरुप छानविन समितिको काम अघि बढ्न सकेको छैन ।
- प्रधानमन्त्री कार्यालयको निर्देशन पछि स्वास्थ्यद्धारा औषधीको मूल्यको सन्दर्भमा परेको उजुरी छानविन गर्न समिति गठन
- औषधीको मूल्यका सन्दर्भमा गठित समितिको म्याद आधा सकियो, छानविन सुरु भएन
औषधीको मूल्यमा सन्दर्भमा उजुरी परेको भन्दै प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटाई छानविन प्रक्रिया अघि बढाउनु भनेपछि स्वास्थ्य मन्त्रालयले गत २६ चैतमै विभागका तत्कालीन महानिर्देशक ढकाललाई मन्त्रालय तानेको हो । अहिले विभागमा निमित्त महानिर्देशक रुपमा शिवानी खड्गीले नेतृत्व गर्दैछिन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

