आज देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

काठमाडौँ, ६ वैशाख : सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ संगै जुकाको औषधी पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।
उनका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिव २२ लाख बालबालिकालाई खुवाइने छ ।
यस्तै आज र भोलि भिटामिन ‘ए’ संगै एक वर्षदेखि पाँच वर्ष मुनिका करिव २० लाख बालबालिकालाई जुकाको औषधी ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको हो ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिव ५२ हजार महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ र जुकाको औषधी स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरि खुवाउने गर्दछन् ।
भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको बृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।
यस्तै जुकाको औषधीले पेटका किरा हटाउँछ र बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउँदछ ।
सरकारले भिटामिन ए कमिको रोकथाम तथा उपचारको लागि वि.स २०५० मा ८ जिल्ला बाट सुरु भएको राष्ट्रिय भिटामिन ए कार्यक्रम वि.स २०५९ सालदेखि देशभरि नै लागु गरिएको थियो ।
यस्तै जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालबाट १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधी खुवाउने कार्यक्रम २०६७ बाट सवै जिल्लामा लागु गरिएको छ ।
सरकारले प्रत्येक आर्थिक बर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

