‘बुढ्यौली ठानेर बेवास्ता गर्दा जटिल बन्न सक्छ पार्किन्सन’

48
Shares

काठमाडौँ, २८ चैत ६०–६५ वर्ष उमेर कटेपछि कतिपय व्यक्तिमा हिँड्न गाह्रो हुनु, शरीर कडा हुनु वा हात काँप्ने जस्ता लक्षण देखिन्छन्। धेरैले यस्ता लक्षणलाई सामान्य बुढ्यौलीको समस्या ठान्ने गरेका छन्। तर चिकित्सकहरूले यस्ता संकेतलाई बेवास्ता नगर्न सचेत गराएका छन्।

उनीहरूका अनुसार यी लक्षण गम्भीर स्नायु रोग पार्किन्सनका प्रारम्भिक संकेत हुन सक्छन्।

विश्व पार्किन्सन दिवसको अवसरमा काठमाडौँमा सिनियर केयर सेन्टरद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा विशेषज्ञहरूले समयमै पहिचान र उपचार नभए रोग जटिल बन्दै जाने बताएका छन्।

स्नायु रोग विशेषज्ञका अनुसार पार्किन्सन एक प्रगतिशील न्युरोलोजिकल रोग हो, जसले शरीरको चाल–ढाल नियन्त्रण गर्ने क्षमतामा असर पार्छ। मस्तिष्कको “सब्स्टेन्सिया निग्रा” भागमा डोपामाइन नामक रसायनको कमी हुँदा यो रोग हुने नसारोग विशेषज्ञ डा. राजु पौडेलले जानकारी दिए।

उनका अनुसार रोगका मुख्य लक्षणहरूमा हात काँप्नु, शरीर कडा हुनु, चाल सुस्त हुनु र सन्तुलन बिग्रिनु पर्दछन्। यी लक्षणलाई सामान्य ठानेर उपचार नगर्दा रोग क्रमशः जटिल बन्दै जान्छ। यद्यपि, सबै प्रकारका कम्पन पार्किन्सन नहुने पनि उनले स्पष्ट पारे।

नेपालमा हाल करिब १० देखि १५ हजार मानिस पार्किन्सन्सबाट प्रभावित भएको अनुमान छ ।  वार्षिक करिब ५०० जनाको मृत्यु यसै रोगका कारण हुने अनुमान गरिएको छ। विशेषगरी ६० देखि ८० वर्ष उमेर समूहमा यो रोग बढी देखिए पनि ४० वर्षमुनिका करिब ५ प्रतिशतमा पनि पार्किन्सन देखिने गरेको बताइएको छ।

रोगको प्रारम्भिक चरणमै उपचार सुरु गरेमा बिरामी सामान्य जीवनयापन गर्न सक्ने डा. पौडेलको भनाइ छ।

फङ्सनल न्युरो सर्जन डा. रेशा श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा औषधिबाट रोगलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ। तर औषधिले काम नगर्ने अवस्थामा शल्यक्रिया आवश्यक पर्न सक्छ।

उनका अनुसार केही बिरामीमा “डीप ब्रेन स्टिमुलेसन” प्रविधि प्रयोग गरिन्छ, जसमा मस्तिष्कमा सानो उपकरण (ब्रेन पेसमेकर) राखेर कम्पन र कडापन नियन्त्रण गर्ने प्रयास गरिन्छ। “सबै बिरामीलाई अपरेसन आवश्यक पर्दैन, तर औषधिले काम गर्न छाडेपछि यस्तो विकल्प अपनाउनुपर्छ,” उनले भनिन्।

चिकित्सकहरूका अनुसार पार्किन्सन पूर्ण रूपमा निको नहुने रोग भए पनि समयमै उपचार, नियमित व्यायाम र जीवनशैली परिवर्तनमार्फत नियन्त्रण गर्न सकिन्छ। फिजियोथेरापी, स्पिच थेरापी र पुनर्स्थापनात्मक उपचारले बिरामीको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।

“लक्षण देखिएपछि तुरुन्त उपचार सुरु गरियो भने रोगको गति धेरै हदसम्म सुस्त बनाउन सकिन्छ,” एक फिजियोथेरापी विशेषज्ञले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पार्किन्सन रोग तीव्र रूपमा बढिरहेको छ। पछिल्ला २५ वर्षमा यसको संख्या दोब्बर भएको छ र लाखौँ मानिस प्रभावित भएका छन्।

नेपालमा पनि यो रोग बढ्दो क्रममा रहेको छ। विभिन्न अध्ययनअनुसार प्रत्येक वर्ष १,५०० देखि १०,००० सम्म नयाँ बिरामी थपिने अनुमान गरिएको छ।

त्यस्तै, पार्किन्सनका कारण नेपालमा कुल मृत्युको करिब ०.४७ प्रतिशत हिस्सा ओगट्ने गरेको तथ्याङ्क छ।

विशेषज्ञहरूका अनुसार बढ्दो आयु, वातावरणीय प्रदूषण, रसायनको प्रयोग तथा जीवनशैलीमा आएको परिवर्तनका कारण रोगको जोखिम बढ्दै गएको छ।

कार्यक्रममा सहभागी बिरामीहरूले उपचार पद्धति र नयाँ प्रविधिबारे जानकारी पाउँदा उत्साह व्यक्त गरेका थिए। उनीहरूले रोगबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालमा अझै पार्किन्सनबारे जनचेतना कम रहेको र धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल पुग्ने समस्या रहेको चिकित्सकहरूको भनाइ छ। ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव र उपचार महँगो हुनु पनि चुनौतीका रूपमा देखिएको छ।

विश्व पार्किन्सन दिवस प्रत्येक वर्ष अप्रिल ११ मा मनाइन्छ, जसको उद्देश्य रोगबारे जनचेतना फैलाउनु र प्रारम्भिक पहिचानमा जोड दिनु हो।

चिकित्सकहरूका अनुसार लक्षणलाई बेवास्ता नगरी समयमै उपचार सुरु गर्ने हो भने पार्किन्सनलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

नेपाल सिनियर केयरका निर्देशक दिल सागर कटुवाल  आफूले धेरै पार्किन्सन बिरामीलाई नजिकबाट नियालेको बताउँछन् । उनी भन्छन्, “समयमै चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा बिरामीहरू पहिलेको अवस्थामा फर्किएको समेत देखिएको छ ।,”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *