त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्ने प्रयास

काठमाडौँ, ११ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गत १ माघ देखि रोकिएको स्वास्थ्य बीमा कार्यक्रम पुन सूचारु गर्न सरकारी अधिकारीहरु कस्सिएका छन् ।
स्वास्थ्य बीमा बोर्डका नव नियुक्त कार्यकारी निर्देशक डा कृष्ण प्रसाद पौडेलको टोली आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँका कार्यकारी निर्देशक प्राडा सुभास प्रसाद आचार्य र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणी गजुरेलसंग छलफल गरेको छ ।
छलफलका क्रममा स्वास्थ्य बीमाका नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्यांकन प्रणालीको सुदृढीकरण, आपसी समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै अस्पतालबाट उठाईएका बिषयहरुमा विज्ञहरूबीच थप परामर्स गरी यथासिघ्र स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको बोर्डले जनाएको छ ।
‘केही समस्या छन्, त्यसलाई सल्ट्याएर सकेसम्म छिटो रोकिएको स्वास्थ्य बीमा कार्यक्रमलाई सूचारु गर्ने योजनामा छौँ,’ बोर्डका कार्यकारी निर्देशक डा पौडेलले नेपाली हेल्थसंग भने ।
पछिल्लो समय ठूला सरकारी अस्पतालहरुले उपचार सेवा वापतको रकम बक्यौता लामो समय देखि सोधभर्ना हुन नसकेको भन्दै स्वास्थ्य बीमा कार्यक्रम रोक्ने निर्णय गरेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



