यस वर्ष डेंगीका बिरामी ६० हजार पुग्ने ईडीसीडीको प्रक्षेपण
काठमाडौँ, १८ असार । गर्मी र बर्खा (असार, साउन, भदौ र असोज महिना) डेंगी संक्रमणका लागि अनुकुल हुने समय मानिन्छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत पुस देखि आजको दिनसम्म १ हजार ६७३ जनामा डेंगी संक्रमण पुष्टी भएको जनाएको छ ।
उसले पछिल्लो सात दिनमा ७१ जना र चौविस घण्टामा ३ जना डेंगी संक्रमणमा परेको उल्लेख गरेको छ । यी संक्रमणहरु देशका ७३ जिल्लामा भेटिएको समेत जानकारी गराएको छ ।
बुधबार टेकुमा आयोजित संक्रामक रोगको महामारी व्यवस्थापनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तयारी विषयक अन्तक्र्रिया कार्यक्रममा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल डेंगीको बर्तमान अवस्था र उच्च विन्दुमा पुग्ने अवस्थाको प्रक्षेपण सुनाएका थिए ।
उनका अनुसार यस वर्ष देशभर डेंगी संक्रमणबाट ६० हजार बढी विरामी हुन सक्नेछन् । ‘त्यसका लागि हामीले तयारी गरेका छौँ , कार्ययोजना बनाउँदै छौँ,’ उनले भने ।
साउनबाट डेंगी संक्रमण अझ बढेर भदौ र असोज सम्ममा पिक अवस्थामा पुग्ने इडिसिडीको अनुमान छ । ‘त्यसपछि बरु घटन सक्छ,’ डा दाहालले भने ।
‘पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने डेंगीका केशहरु लगायता बढेको छ । यसलाई नियन्त्रण गर्नका लागि सर्बपक्षीय हातेमालोको आवश्यकता छ । यसका लागि हामीले अब बाटै तयारी गर्नुपर्छ,’ डा. दाहालले भने । उनले रिपोर्टिङबाट बाहिर आएका केशभन्दा कैयौँ गुणा बढी भित्र भित्रै संक्रमण भएको हुनसक्ने भन्दै यसमा सचेत हुन आग्रह समेत गरे ।
डेंगी सार्ने लामखुट्टे एडिस एजेप्टाईले पानी जमेको ठाउँमा फुल पार्ने भएकोले यस्ता पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला राखिएका स्थानमा विशेष ध्यान दिन र त्यसरी पानी जम्ने अवसथ हुन नदिन विज्ञहरुको सुझाव छ । इडिसिडीले पनि लामखुट्टेको बासस्थान हुने स्थानको पहिचान गरी त्यस्ता स्थानलाई सरसफाई गर्ने कार्यमा सबै जोगिन अनुरोध गरेको छ ।
रोग नियन्त्रणका लागि नागरिकमा सचेतना आवश्यक : निर्देशक डा. चन्द्रभाल झा
यसैबीच अन्तक्र्रिया कार्यक्रममा इडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले डेंगी तथा अरु संक्रामक रोग नियन्त्रणका लागि नागरिकमा सचेतना जरुरी रहेको बताउँछन् । । नागरिकमा सचेतना हुँदा रोगबाट नागरिक आफै बच्न सक्ने र प्रकोप फैलिनबाट रोकथाम हुने उनको भनाई छ ।
‘नागरकमा सचेतना भयो भने रोगहरू न्यूनीकरण गर्न सकिन्छ’, उनले भने, ‘विभिन्न रोगहरू प्रकोप र महामारीको रूप लिनबाट जोगाउन पनि मद्दत पुग्छ ।’ त्यस्तै डा झाले रोगबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमको जीवनशैली अपनाउनुपर्ने बताए ।
रोगका कीटाणुहरू शरीरमा कुनै न कुनै बेला हुने तर प्रतिरोधात्मक क्षमता कम भएका बेला ती रोगहरू देखा पर्न सक्ने भन्दै रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनेृमा समेत जोड दिए ।
सम्पर्क इमेल : [email protected]