साबधान ! सर्पको सिजन सुरु हुँदैछ

‘नेपालमा प्रत्येक वर्ष ४० हजार बढीलाई सर्पले डस्छ, ३ हजार बढीको ज्यान जान्छ’

सर्पको डसाईबाट जोगिन के गर्ने ? डसि हालेमा के गर्ने ?

काठमाडौँ, ९ जेठ । देशमा गर्मी मौसम सुरु भईसकेको छ । अब बर्खाका लागि मनसुन भित्रदै छ । गर्मी र बर्खाको सिजन सुरु भएसंगै नेपालमा सर्पदंशका केशहरु बढी हुन थाल्दछन् ।

केही साता देखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका केस थपिन थालेको छ । अहिले त दैनिक १५ जनासम्म सर्पले डसेर उपचारको लागि आउने गरेका छन् । ती मध्ये ५, ६ जनाको भर्ना नै हुने गरेका छन् ।

अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले वैशाखदेखि साउन महिनासम्म सर्पदंशका बिरामी बढ्ने जानकारी बताउँछन् । ‘असार, साउन महिनामा दैनिक २५ जनासम्म उपचारको लागि आउने गरेका छन्,’ डा.बसौला भन्छन्,“अस्पतालमा आउने बिरामी काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेका रहेका छन् ।”

उनले सरुवा रोग अस्पतालमा दैनिक छ जनाको भर्ना हुने गरेको बताए ।

बिहीबार नेपाल चिकित्सक संघ, रोटरी क्लव अफ काठमाडौँ मिड टाउन, विश्व स्वास्थ्य संगठन लगायतको संस्थाको सहकार्यमा सर्पदंश रोकथाम सम्वन्धी कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा. डा. सञ्जीवकुमार शर्माले देशमा सर्पदंशको अवस्थाबारेमा प्रस्तुति दिएका थिए ।

उनका अनुसार नेपालमा प्रत्येक वर्षको सर्पको डसाईमा पर्नेको संख्या ४० हजार बढी छ ।  यो भनेको हरेक दिन करीव ११० जनालाई सर्पले डस्नु हो ।

मृत्यु हुनेको संख्या ३ हजार बढी छ । यस तथ्यांकले पुष्टि गर्दछ कि नेपालमा सर्पको डसाईबाट दैनिक औषत ८ जनाको मृत्यु हुने गरेको छ ।

प्राडा शर्माले सर्पदंश धेरैजसो गरिब परिवारकालाई नै हुने गरेको जानकारी दिए । उनले सर्पदंशका बिरामीको मृत्यु भएमा त्यसको आर्थिक भार परिवारलाई पर्ने बताए । डा.शर्माले सर्पदंशले एक चौथाइमा कुनै न कुनै रूपले अङ्गभङ्ग हुने तथा १० प्रतिशतमा मानसिक समस्या निम्तिने गरेको बताए । उहाँले सर्पदंशबारे सचेतना अभाव रहेको भन्दै अझै पनि धामीझाक्रीकहाँ लग्ने गरेको बताए ।

सर्पदंशबारे सचेतनाको अभाव रहेको भन्दै उनले सर्पदंशपछि समयमै उपचार नहुँदा कतिपयको मृत्यु हुने गरेको बताए । गाउँघरमा उपलब्ध धामी, झाँक्री तथा झारमौरो जस्ता जडिबुटीको प्रयोग गर्न लाग्दा अस्पताल पु¥याउन ढिलाइ हुने र मृत्यु हुने गरेको उनको भनाइ छ । उनले सर्पले डस्नेवित्तिकै जति सक्दो चाँडो उपचार केन्द्रमा पु¥याउनुपर्ने सुझाव दिए ।

डा. शर्माका अनुसार नेपालमा विशेष गरी करेत, कोब्रा, हरेउ र गोमन सर्पले टोक्ने गरेको बताए । उहाँले गोमन र करेतले टोकेमा एक घण्टाभित्र उपचार पाएमा बचाउन सकिने बताए ।

करेत सर्पले टोकेपछि नदुख्ने र घाउ सानो हुने भएकोले कतिपयलाई थाहै नहुने जानकारी दिए ।

उनले सर्पको विष शरीरमा फैलिएर श्वास फर्न कठिन भएको बेलामा आइसियु, भेन्टिलेटरको सहायता चाहिन्छ,डा.शर्माले अगाडी थपे, “सर्पदंशको उपचार केन्द्रमा आइसियु नहुने हुँदा बिरामीको मृत्यु रिफर गर्दागर्दै हुने गरेको छ ।”

डा.शर्माले सर्पले टोकेको भागमा कपडा बाँध्ने चलन गलत रहेको बताउँदै उनले सर्पले टोक्नासाथ टोकेको भागको वरपर कस्दा हातखुट्टा काट्नुपर्ने अवस्था आउने जानकारी दिए । उनले सर्पले डसेको ठाउँमा चुस्ने, फुक्ने , झार हाल्ने, कसिने गरी कपडा वा डोरी बाँध्न नहुने स्पष्ट पारे ।

सर्पले डसेको थाहा पाउनासाथ उपचार केन्द्रमा जाने, टोकेको ठाउँलाई चल्न नदिएर, टोकेको ठाउँमा सफा पानीले सफा गर्नुपर्नेमा उनको जोड थियो । उनले ९० प्रतिशत सर्प विषालु नहुने भन्दै चिकित्सककहाँ गएपछि विषालु वा विषरहित सर्पले टोकेको पत्ता लगाउन सकिने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सर्पदंशबाट बच्ने उपायहरू तथा सचेतना सन्देश सञ्चारमाध्यमबाट फैलाउनुपर्ने बताए ।  उनले धेरैजसो गरिब र अशिक्षित परिवारका सदस्यलाई तराईमा सर्पले डस्ने गरेको बताए ।

चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले सर्पबाट बच्नका लागि सावधानी अपनाउन सुझाव दिए । उनले घर वरिपरि नियमित सरसफाइ गर्ने, जङ्गल, झाडीमा जाँदा पनि उत्तिकै चनाखो हुने, रातीमा हिड्दा टर्चलाइटको प्रयोग गर्ने, गाउँघरमा लौरो टेकेर हिड्दा सर्पबाट बच्न सकिने बताए ।

रोटरी क्लब अफ काठमाडौं मिड–टाउनका डा. निर्मल रिजालले धेरैजसो गरिब र अशिक्षित परिवारका सदस्यलाई तराईमा सर्पले डस्ने गरेको उल्लेख गर्दै उनीहरूमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *