एमाले निकटका स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशन १७ जेठमा, नेतृत्व दौडमा को-को छन् ?

काठमाडौँ, ५ जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय अधिवेशन आगामी १७, १८ र १९ जेठमा काठमाडौँमा हुँदैछ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने सो अधिवेशनले महासंघको नयाँ नेतृत्व छनौट गर्नेछ ।

चिकित्सक, नर्स, आयुर्वेद, जनस्वास्थ्य, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यका आठवटा घटक संगठनहरु मिलेर तीन वर्ष अघि महासंघ स्थापित भएको थियो ।

यद्धपी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नै महासंघमा रुपान्तरण भएको भन्दै संगठनका अगुवाहरुले यस अधिवेशनलाई ‘पाँचौ अधिवेशनको हो’ भनेका छन् ।

त्यसो त वर्तमान कार्यसमितिको कार्याकाल एक वर्ष अझै बाँकी छ । चार वर्षे कार्यकालका लागि नेतृत्वमा पुगेका अध्यक्ष डा. झलक गौतम भन्छन्, ‘यसपटक हामीले चाँडो काम सक्यौँ, त्यसैले एक वर्ष अघि नै महाधिवेशन सम्पन्न गर्न गईरहेका छौँ ।’

उनले यसपटक अधिवेशनमा ७७ वटै जिल्ला, सात प्रदेशमा थप एउटा उपत्यका गरी आठ वटा प्रदेशस्तरीय समिति, ८ वटा घटकबाट प्रतिनिधिहरु छानिएर आउने बताए । यस्तै उनले ६ जिल्ला बाहेक सबैमा अधिवेशन सम्पन्न भईसकेको भन्दै ५ देखि ६ सय को हाराहारीमा प्रतिनिधि पुग्ने जानकारी दिए ।

स्थानीय तह अन्तर्गत २५० बढी पालिकामा आफ्नो संगठन विस्तार भएको दावी गर्दै डा गौतमले स्वास्थ्यको सबैभन्दा ठूलो र बलियो संगठनको रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल स्थापित भएको दावी गरे ।

डा गौतमले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउनु पर्छ भन्ने विषय देखि निजी मेडिकल कलेजमा अध्ययन् गर्ने पीजी रेजिडेन्टलाई आठौँ तहको निर्वाह भत्ता उपलव्ध गराउनु पर्छ भन्ने मुद्धा स्थापित गराई कार्यान्वयनको तहसम्म पु र्‍याउने श्रेय महासंघलाई जाने बताए ।

नेतृत्वका आकांक्षीमा चार जना

स्वास्थ्यमा देशभरको ठूलो संगठन दावी गर्ने महासंघको आगामी १७ र १८ जेठमा हुने पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व छनौट हुँदैछ । त्यसका लागि नेताहरुले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप सुरु गरिसकेका छन् ।

महासंघको नेतृत्व हत्याउन यसपटक बर्तमान अध्यक्षसंगै अरु तीन उपाध्यक्षहरु प्रतिस्पर्धामा उत्रिएको बुझिएको छ । झण्डै चार दशक स्वास्थ्यमा विताएका बर्तमान अध्यक्ष डा गौतम अझ एक पटक संस्थालाई नेतृत्व गरेर गति प्रदान गर्ने पक्षमा देखिन्छन् ।

यस्तै उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली र भीमराज सिंह पनि अध्यक्षको रेसमा आफूहरुलाई उभ्याएका छन् ।

महासचिव डा सन्तोष पौडेल भने यसपटक प्रतिस्पर्धामा देखिएका छैनन् ।

नेपालीहेल्थ संगको कुराकानीमा वर्तमान अध्यक्ष डा गौतमले आफू अहिले जागिरे जीवनबाट अवकाश लिइसकेको र सबै समय संगठनलाई दिनसक्ने भएकोले पुन नेतृत्वमा आउने चाहना भएको बताए ।

राष्ट्रिय स्वाथ्यकर्मी संग नेतृत्व तहबाटै चोईटिएको अवस्थामा संगठनलाई झन् बलियो र ठूलो बनाएर ल्याउने काममा आफूले सफलता प्राप्त गरेको भन्दै उनले लामो समय देखि संगठनमा रहेकोले त्यसको भरपुर अनुभव र योजना प्रयोग गरी संगठनलाई अघि बढाउनका लागि आफूले दावी गरेको बताए ।

अर्का प्रतिस्पर्धी जगत नेपालीले एक कार्यकाल उपाध्यक्ष भएपछि अध्यक्ष पदका लागि दावी गर्नु स्वभाविक रहेको भन्दै महासंघको नेतृत्वका लागि अघि बढेको बताए । उनले देशव्यापी माहोल आफ्नो पक्षमा रहेको भन्दै सहमतिबाटै नेतृत्व चयन हुने र त्यसमा आफ्नो पक्षमा माहोल बन्नेमा विश्वस्त रहेको सुनाए ।

अध्यक्षका अर्का प्रतिस्पर्धी भीमराज सिंहले पनि महासंघको नेतृत्वमा आफ्नो दावी स्वभाविक रहेको बताए । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास हुन्छ, नत्र लोकतान्त्रिक विधिमा पनि जानु पर्न सक्छ । उनले आफू संगठन निर्माणको काममा देशव्यापी रुपमा खटिएको भन्दै जिल्ला, प्रदेश तथा घटकबाट छानिएका प्रतिनिधिले अघि बढ्न सुझाव दिएको बताए ।

अर्का प्रतिस्पर्धी रामहरि ढकाल भने सम्पर्कमा आएनन् ।

महासचिव डा. पौडेल यसपटक आफू संगठन नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिर नै रहेको बताए ।

उता उपमहासचिव हिमालय तिवारी महासंघ भन्दा राष्ट्रिय स्वास्थ्यकर्मी संघको नेतृत्व तर्फ जानेकी भन्ने योजनामा अघि बढेको बताउँछन् । आफ्ना धेरै साथीहरुले पेशागत संगठन (राष्ट्रिय स्वास्थ्यकर्मी संघको नेतृत्वका लागि अनुरोध गरिरहेको भन्दै उनले त्यसतर्फ जानेकी भन्ने विषयमा सोचिरहेको बताए ।

महासचिव पदका लागि अमृता बराल अघि सरेकी छन् ।

उपमसचिवद्धय तिवारी र बराल महासचिवका दावेदार भए पनि तिवारी ट्रेड युनियनको इच्छा देखाएकोले बरालको सम्भावना बढी देखिएको हो ।

पार्टीको हस्तक्षेप हुने डर
पछिल्लो समय नेकपा एमालेको नेतृत्व तहले पार्टी निकट मानिने संगठनहरुको नेतृत्व प्रत्यक्ष परोक्ष रुपमा हस्तक्षेप गरी आफू अनुकुलका व्यक्तिलाई लैजाने गरेको छ ।

महासंघको निर्वाचनमा पनि हस्तक्षेप हुनसक्ने धेरैको अनुमान छ ।

‘सहमति पनि एक प्रक्रिया त हो तर नमिलेको अवस्थामा निर्वाचनमा जान दिनु पर्दछ । तर पार्टीले हस्तक्षेप गर्छ । आफू अनुकुलका व्यक्तिहरुलाई नेर्तत्वमा लैजान्छ,’ एक सदस्यले भने ।

डा गौतम भने मिलेर जानु सबैभन्दा हितकारी हुने भन्दै त्यसलाई गलत अर्थ लगाउन नहुने बताउँछन् । ‘एउटै संगठन भित्र भयंकर गर्नु पनि राम्रो हुँदैन । सुझबुझपूर्ण तरिकाले नेतृत्व छानिएको राम्रै हुन्छ,’उनले भने ।

अर्का प्रतिस्पर्धी सिंहले अधिवेशनमा पार्टीको ठाडो हस्तक्षेप नहुने र त्यसो गर्न पनि नमिल्ने भन्दै सहमतिमा मिलेर जान सके सबैभन्दा राम्रो हुने बताए । उनले नमिलेको अवस्थामा लोकतान्त्रिक विधिबाट अघि बढ्नु श्रेयसकर हुने बताए ।

महासंघको १५१ सदस्यीय कार्यसमितिलाई अवको अधिवेशनले भने घटाएर ९९ मा झार्दैछ । महासंघमा यसअघि १७ जना पदाधिकारी थिए, त्यसलाई पनि घटाएर ९ जनामा झारिने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *