‘जनरल नर्सिङ कार्यक्रममा सरोकारवाला पक्षसंग थप छलफल आवश्यक’
काठमाडौँ, २८ बैशाख । सरकारले १२ कक्षापछि सञ्चालनमा ल्याउन लागेको जनरल नर्सिङ कार्यक्रममा सरोकारवाला पक्षसंग थप छलफल गर्न विज्ञहरुले सुझाव दिएका छन् । आइतबार मनास्लु ईन्टरनेशनल सर्भिसको सहयोगमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा १२ कक्षा पछि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने उल्लेख थियो ।
‘नर्सिङ शिक्षामा सुधार : जनरल नर्सिङ कार्यक्रम सही कदम हो ?’ शीर्षकमा आयोजना भएको उक्त कार्यक्रममा चिकित्सा शिक्षा आयोगकी निर्देशक प्राडा सरला श्रेष्ठले विज्ञहरु सहभागी कार्यदलले दिएको सुझाब र त्यसपछि भएका छलफलपछि मिडवाइफ्रीका विषय पनि जनरल नर्सिङ कार्यक्रममा हुने भएकाले तीन वर्षको कोर्ष सुरु गर्ने निर्णय भएको बताईन । उनले आयोगको १७ औं बैठकले १२ कक्षामा विज्ञान बाहेकका विषय पढेर उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि तीन वर्षे जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जानाकारी दिईन् ।
‘जनरल नर्सिङ कार्यक्रममा मिडवाइफ्री नराख्ने हो भने कम्तिमा दुई वर्षको गर्न सकिने सुझाब आएको थियो। तर नेपालको परिप्रेक्ष्यमा जनरल नर्सिङमा मिडवाइफ्री विषय पनि राख्ने हो भने दुई वर्षले पुग्दैन तीन वर्ष हुनुपर्छ भनेर तीन वर्षका विषयमा निर्णय भएको छ,’ उनले भनिन् ।
नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलकी सदस्य समेत रहेकी स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा निरौलाले जनरल नर्सिङका विषयमा तीन वर्षकै हुने भने निर्णय भएर आएको जानकारी दिइन्।
‘कार्यदलले यदि मिडवाइफ्री नपढाउने हो भने नर्सिङका लागि कम्तिमा दुई वर्ष भनेर सुझाब दिएको थियो। अहिले अब चिकित्सा शिक्षा आयोगबाट जसरी पिसिएल नर्सिङमा नर्सिङ र मिडवाफ्री दुवै विषय पढाइ हुन्छ त्यसैगरी जनरल नर्सिङमा पनि दुवै विषय हुने र यो तीन वर्षको हुने भन्ने नै छ,’ उनले भनिन् ।
कार्यक्रममा नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले नयाँ कार्यक्रम लागू भएपछि केही क्राइटेरिया थपेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन्। ‘काउन्सिलले अहिलेसम्म अनमीदेखि स्नातोकत्तकर तहसम्मका लाइसेन्स दिइरहेको छ। यो कार्यक्रमका हकमा पनि केही क्राइटेरिया थप्नुपर्ने होला। आवश्यक छलफल र गृहकार्यपछि हामी लाइसेन्स दिने प्रक्रियामा जानेछौं,’ उनले भनिन्।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका सदस्य सचिव महेश भट्टराईले नेपालको सन्दर्भमा अहिले नै पिसिएल कोर्ष फेजआउट गर्ने समय नआएको बताए। उनले भने, ‘हाम्रा उत्पादन देशको दुरदरजा पुग्ने खालको उत्पादन हुनुपर्छ। यो कार्यक्रम अस्पतालका लागि हो वा विश्वविद्यालयका लागि हो ? यदि अस्पतालका लागि हो भने हाम्रो आवश्यकता र भूगोल हेरर निर्णय गरौं। सिटिइभिटीको नर्सिङ कार्यक्रम अझै १०-१५ वर्ष फेजआउट गर्न बेला आएको छैन।’
नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जनरल नर्सिङ कार्यक्रमका विषयमा थप बहस र छलफल आवश्यक रहेको बताइन्। ‘ुदुई वर्षे जनरल नर्सिङ कार्यक्रमका लागि सिफारिस आउँदा म नेपाल नर्सिङ सङ्घको अध्यक्ष भइसकेको थिइनँ। सरोकारवाला व्यक्तिको रुपमा भने त्यतिबेला पनि हामीले आफ्ना कुरा राखेका हौं,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि मास्टर्स पढ्नका लागि कम्तिमा पनि १६ वर्षको अध्ययन खोजिन्छ। प्लस टु सकेपछि तीन वर्ष अध्ययन गर्दा पनि १५ वर्ष मात्रै हुन्छ, दुई वर्षको जनरल नर्सिङ कार्यक्रमलाई कुन तहमा राख्ने भन्ने सरोकारवालाहरुसँगको एक चरणको छलफल भएर नै जनरल नर्सिङ कार्यक्रम तीन वर्षमा हुन पुगेको हो भन्ने मेरो बुझाई छ।’
कार्यक्रममा विज्ञ र सरोकारवालाहरुको धारणा सुनेपछि संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले जनरल नर्सिङ कार्यक्रमका फाइदा र बेफाइदाका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘उत्पादित जनशक्तिको भविष्य के हुने हो, रोजगारीको ग्यारेन्टी के हुने हो र यो पढिसकेपछि त्यो भन्दा माथिल्लो तहको अध्ययन के हुने लगायतका सबै विषय हेरेर मात्र कार्यक्रम लागु हुनुपर्छ। यो विषयमा संसदीय समितिमा छलफल गर्नपरे पनि म त्यसका लागि तयार छु,’ उनले भने।
सम्पर्क इमेल : [email protected]