नेपालमा क्षयरोग नियन्त्रणका लागि भइरहेका प्रयासहरु

नेपालमा क्षयरोग (टीबी)को अवस्था अलि जटिल नै छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा ६८ हजार जना नयाँ क्षयरोग प्रभावित व्यक्तिहरु थिए ।

यस्तै क्षयरोगबाट बार्षिक मृत्यु हुनेको संख्या १६ हजार भएको अनुमान छ ।

६८ हजार नयाँ क्षयरोगी भए पनि उपचारको दायरामा ४० हजार ७७६ जना मात्रै छन् ।

यस्तै नेपालमा औषधी प्रतिरोधी क्षयरोग (डीआर टीबी)को रुपमा परिचित कडा खालको क्षयरोगीको संख्या ३ हजार बढी रहेको अनुमान छ । तर उपचारको पहुँचमा अहिले ७५६ जना मात्रै आउनु भएको छ ।

ठूलो संख्यामा उपचारको पहुँच बाहिर हुँदा अर्थात केश पत्ता लाग्न नसक्दा यसले संक्रमितको संख्या घटाउन अवरोध पैदा गरिरहेको छ । संक्रमितहरु उपचारको पहुँचमा नआएकै कारण थाहा नै नभई एक अर्कामा रोग सरिरहेको हुन्छ । यसले रोग नियन्त्रणमा समेत चुनौती देखा परेको छ ।

क्षयरोगको उच्च जोखिम मानिएका विश्वका ३० देशमा नेपाल पनि पर्दछ । यसमा औषधी प्रतिरोधि क्षयरोग बढी पर्दछ ।
यसले भोलीका दिनमा नेपालीहरुलाई अन्तराष्ट्रिय कनेक्टिभिटीमा समेत अफ्टेरो पार्न सक्छ । कुनै पनि देशमा जाँदा यो डीआर टीबी हो कि होईन ? हो भने उपचार गरेर आउ भन्छन् । डीआर टीबी यस्तै बढ्दै गयो भने विदेश जान पनि समस्या हुन्छ । त्यसैले पनि हामी सबै सम्वेदनशील भई उपचारको पहुँचमा सबैलाई ल्याउन जरुरी छ । क्षयरोगको उपचार निशुल्क छ । व्यक्तिले खर्च गर्नु पर्दैन ।

क्षयरोग नियन्त्रणका लागि अहिले भईरहेका काम 
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग नियन्त्रणका विभिन्न प्रयास गरिरहेको छ । त्यसमा पनि यहाँ मैले मुख्य रुपमा भएका पाँच काम उल्लेख गर्न चाहन्छु ।

१. एक्टीभ केश फाइन्डिङ वीथ एक्सरे : राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले अहिले जोखिम समुदायमा गएर एक्सरे सहितको शिविर राख्ने र त्यहाँ क्षयरोगका लक्षण देखियो भने तुरुन्त जाँच उपचार सुरु गर्ने । लक्षण छैन तर एक्सरेमा दाग देखियो वा लक्षण भेटियो भने तुरुन्त थप जाँच उपचार गर्ने काम गर्दै आएको छ । यसले लुकेर रहेका केश पत्ता लाग्न सजिलो हुन्छ ।

२. डोर टू डोर क्याम्पियन : हामीले टिभि फ्री पालिका घोषणा गरेका छौँ । त्यस ठाउँका घर घरमा गएर क्षयरोगको लक्षण र चिन्ह छ छैन भनेर जाँचहरु गरिरहेका छौँ । त्यसलाई अघि बडाई रहेका छौँ । यसले पनि क्षयरोगी पत्ता लाग्ने र उपचारको पहुँचमा पुग्नलाई सहयोग गरिरहेको छ ।

३. जीन एक्सपर्ट सेन्टर बढाउँदै लैजाने : क्षयरोग जाँचका लागि जीन एक्सपर्ट सेन्टरहरु बढाउँदै लैजाने काम पनि गरिएको छ । जीन एक्सपर्ट मेसिनका लागि आवश्यक पर्ने कार्टेजको व्यवस्थापन तथा भण्डारण गर्ने काम पनि सेन्टरले गरेको छ ।

४. डीआर टीबीको खोजी : औषधी प्रतिरोधी क्षयरोगको रुपमा परिचित डीआर टीबी संक्रमितहरु जो ७५ प्रतिशत उपचार भन्दा बाहिर नै छन् । उनीहरुलाई उपचारको पहुँचमा ल्याउनका लागि एड्भोकेसी गर्नु परयो । यो क्षयरोग कस्तो खालको हो भनेर नागरिकलाई जानकारी दिने र सचेतना फैलाउने काम पनि गरेका छौँ ।

५. क्षयरोग रोकथामका लागि काम क्षयरोग नहुँन दिनका लागि प्रिभेन्टिभ थेरापीहरु जो छ त्यसलाई बढाउँदै लगेका छौँ । टीबी प्रिभेन्टिभ थेरापी दिनु अघि इन्फेक्सन हो कि होईन जाच्ने काम गर्नुपर्छ त्यसको दायरा बढाउने पनि काम हो ।

क्षयरोग ६ महिना मै निको हुने रोग हो ?
सबै क्षयरोग छ महिनामै निको हुन्छ भन्ने होईन । कस्तो खालको क्षयरोग हो त्यसले रोगको अवधी भर पर्दछ । यस्तै कस्तो खालको क्षयरोग हो, सो अनुसार औषधी लिन सकिन्छ । छ महिना, नौ महिना १२ महिना, १८ महिना नियमित खानुपर्ने लगायतका औषधीहरु हुन्छन् । त्यसैले लक्षण देखिएमा तत्काल छातीरोग विशेषज्ञकहाँ गएर देखाउँनु होला ।

क्षयरोगको उपचार निशुल्क छ
क्षयरोगको औषधि अहिलेसम्म निशुल्क छ । पहिले ग्लोबल फण्डबाट आउथ्यो भने अहिले धेरै जसो नेपाल सरकारले नै यसको औषधी खरीद गरी बिरामीहरुलाई निशुल्क उपलव्ध गराउँदै आएको छ ।

औषधी प्रतिरोधि क्षयरोग (डीआर टीबी)का बिरामीका लागि न्युट्रेसन अलाउन्स र ट्रान्सपोटेसन अलाउन्स भनेर तीन हजार रुपैयाँ प्रतिमहिना दिईने गरिएको छ ।

रोग पत्ता लागेपछि कति परिवारले बिरामीलाई आफूसंगै राख्न मान्दैनन्, डराउँछन् वा हेयको भावले हेर्ने गरेका छन् । त्यसैले सरकारले हरेक प्रदेशमा एउटा एउटा डीआर टिवि होस्टल बनाएको छ । यस्ता बिरामीले त्यहाँ गएर बसेर उपचार गर्न सक्छन् । यी होस्टलमा औषधि संगै खाना र बस्न पनि निशुल्क व्यवस्था गरिएको छ ।

#डा. शाह राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका बरिष्ठ छातीरोग विशेषज्ञ हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *