राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार जोशीलाई
काठमाडौं, ६ फागुन । राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि पत्रकार पदमराज जोशी छनोट भएका छन् । राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक बर्ष प्रदान गर्ने २० हजार रूपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘हेल्थ टुडे पत्रिका’का सम्पादक जोशी छनोट भएका हुन् ।
पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते शुक्रबार बिहान ७ बजे कावासोती २ सिमलघारी स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा हुने जनाइएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व कानुनमन्त्री तथा सांसद रोशन बहादुर गाहाको समेत उपस्थितिमा हुने फाउण्डेशनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए ।
फाउन्डेसनका परिकल्पनाकार स्व राधा बस्यालको जन्मजयन्तीको अवसर पारेर हरेक बर्ष फागुन ९ गते एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
यसबर्ष माघ ४ गते आवेदन आह्वान भएको थियो ।
कसरी स्थापना भयो फाउण्डेशन ?
विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् । त्यसै बेला उनलाई स्तन क्यान्सरको पुष्टि भएको थियो । त्यसपछि विगत दुई बर्षसम्म भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा तीन तीन महिनामा फलोअप गर्ने क्रम चलिरहेको थियो ।
अस्पतालले मृत्युको मिति तोकि सक्दा समेत राधाले उपचारसँगै क्यान्सर सचेतना र महिलाहिंसा बिरुद्धको नयाँ यात्रा पनि तय गरिन् ।
आफु जति दिन बाच्छु यसबारे जनचेतना जगाउँछु एक जना दुई जना गर्दै सबै माझ क्यान्सर पनि समयमै थाहा पाए सक्रिय जिवन जिउन सकिन्छ भन्ने सचेतनाका फैलाउने संकल्प लिएर क्यान्सरबाट थलिएकी राधा मुडुल्लो टाउको लिएर गाउँ–गाँउ पुगेकी थिइन् ।
राधाले धेरै पिडाहरुसँग जुध्नु परे पनि क्यान्सर सचेतना र महिलाहिंसा बिरुद्धको आवाज संचार माध्यम लगायत स्वयमंले पनि दिन सफल भइन फलस्वरुप राधा क्यान्सर सचेतना फाउण्डेशन जन्मिएको हो । बस्यालको निधनपछि फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन् ।
सम्पर्क इमेल : [email protected]