देशभर घट्दै डेंगी संक्रमण

काठमाडौँ, २५ कात्तिक । घट्दो तापक्रमसँगै डेंगी सङ्क्रमण पनि घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार देशभर डेंगी सङ्क्रमणको ट्रेन्ड घट्दै गएको छ ।
ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार दुई सय ८६ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।
त्यसैगरी काठमाडौँमा चार हजार आठ सय तीन, तनहुँमा दुई हजार तीन सय ७३ , पर्वतमा एक हजार सात सय ४९, ललितपुरमा एक हजार दुई सय ४१, बाग्लुङमा एक हजार दुई सय, चितवनमा एक हजार एक सय ७५, भक्तपुरमा एक हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
डेंगीबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेंगीले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।
नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रुपमा चार दिनमा देशभर एक हजार दुई सय ४९ मा डेंगी सङ्क्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
