स्वास्थ्य सामग्री सप्लायर्स कम्पनी वेब ट्रेडिङ कन्सर्नको गोदाममा बाढी पस्दा ३ करोड २५ लाख बढीको क्षति

काठमाडौँ, १५ असोज । तीन दिनको अविरल बर्षा पछि गत शनिबार काठमाडौँ उपत्यकामा आएको विनासकारी बाढीबाट स्वास्थ्य सामग्री सप्लायर्स तथा सेवा प्रदायक संस्था वेब ट्रेडिङ कन्सर्न प्रालि पनि नराम्ररी प्रभावित भएको छ ।
वेब ट्रेडिङको बालकुमारीस्थित मनोहरा करिडोरमा रहेको गोदाममा मनोहरा खोलामा आएको बाढी पसेपछि ठूलो क्षति पुर्याएको हो।
वेब ट्रेडिङले प्रारम्भिक निरीक्षणमा गोदाममा राखिएका विभिन्न चिकित्सकीय सामग्रीहरू, अस्पतालजन्य उपकरणहरू तथा विभिन्न केमिकलहरू गरी करिब ३ करोड २५ लाखजतिको क्षति पुगेको जनाएको छ ।
कम्पनीले क्षतिको पूर्ण मापन गर्न र अवरोधलाई न्यून गर्न आवश्यक उपायहरू लागू गर्न दिनरात काम गरिरहेको कम्पनीका सञ्चालक रामइन्द्र न्यौपानेले जानकारी दिए।
‘यस अप्रत्याशित परिस्थितिका कारण सेवामा ढिलाई हुन सक्ने सम्भावना बढेको छ। कम्पनीले आफ्नो ग्राहकहरूलाई यो कठिन समयमा सहयोग र बुझाइका लागि धन्यवाद दिन चाहन्छ,’ उनले भने, ‘सबै सामग्रीहरू वितरणका लागि उपयुक्त छन् कि छैनन् भन्ने निर्धारण गर्न विस्तृत निरीक्षण पनि भइरहेको छ ।’
उनले क्षति लगत्तै निरीक्षणमा दिनरात खटिएका कम्पनीका सम्पूर्ण सदस्यहरू तथा प्राविधिकहरुलाई र यस विषम परिस्थितिमा हौसला प्रदान गरिरहेका शुभचिन्तकहरू प्रति कृत्तज्ञ भएको समेत जनाए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

