भोटेकोशी त्रिशुली बाढी : ४६९ शव फेला, ९७७ जना सम्पर्कविहीन

4
Share
काठमाडौं, १२ भदौ । भोटेकोशी त्रिशुली बाढीबाट बेपत्ता भएका मध्ये शुक्रबार विहान साढे ७ बजेसम्म ४६९ जनाको शव फेला परेको छ । अहिलेसम्म ९७७ जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको जनाइएको छ ।

प्राप्त विवरणअनुसार शव फेला परेकामध्ये सबैभन्दा धेरै चितवनमा १७८ जना रहेका छन्। त्यसपछि नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना (विभिन्न मानव अङ्गसहित), नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिममा २७ जना र रसुवामा १२ जना रहेका छन्।

सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २८ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना र अध्यागमन कार्यालयका ४ जना रहेका छन्। यस्तै, रसुवाबाट १६१ जना, नुवाकोटबाट १ जना र मकवानपुरबाट ६६ जना सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ। विदेशी नागरिक ५१७ जना सम्पर्कविहीन छन् भने नेपाल घुम्न आएका र विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

विपद्पछि ३ हजार २ सय ५६ जनाको उद्धार गरिएको छ। यस्तै, ७३ जनालाई चाटर्डमार्फत उद्धार गरिएको विवरणमा उल्लेख छ। चाटर्डबाट उद्धार गरिएकामध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना छन्।

उद्धार तथा खोजी कार्यका लागि हाल ९ हजार ८ सय ५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४ हजार २ सय ४३, नेपाल प्रहरीका ३ हजार ९ सय १८ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ६ सय ४४ जना रहेका छन्।

सरकारले राहतका लागि रसुवालाई १ करोड रुपैयाँ, नुवाकोटलाई १ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। यसबाट कुल २ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको जनाइएको छ।

यस्तै, राहत सामग्रीअन्तर्गत सुत्ने झोला, कम्बल, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री १० वटा ट्रकमार्फत पठाइएको छ। उद्धारका लागि नेपाली सेनाले ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर उद्धारमा खटाएको विवरणमा उल्लेख छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *