धेरै सन्तान जन्माउनेलाई २० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता

108
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप बचत रकम उपलव्ध गराउने नीति लिएको छ ।

गाउँपालिकाले बालबालिका जीवन सुरक्षा कार्यक्रम मार्फत पाँच हजार देखि २० हजार रुपैयाँ सम्म रकम उपलव्ध गराउँदै आएको छ ।

विसं २०८१ साल भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सुरु गरिएको यो कार्यक्रम अन्तर्गत जन्मने प्रत्येक वालबालिकाको नाममा बचत गरी उनीहरुको भविस्यको आर्थिक आधार तयार गरिएको पालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८१ /०८२ मा सुरु भएको यो कार्यक्रममा पहिलो वर्ष ५३ जना नवजात शिशु लाभान्वित भएका थिए । कार्यक्रम प्रति अभिभावकको आकर्षण बढ्दै जाँद्या आर्थिक वर्ष २०८२ ०८३ मा लाभग्राही संख्या बढेर ७५ पुगेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले जानकारी दिए ।

यसवर्ष गाउँपालिकाले कार्यविधिमा संसोधन गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाएको जनाएको छ । संसोधित व्यवस्था अनुसार पहिलो सन्तानका लागि ५ हजार रुपैयाँ, दोस्रोका लागि १० हजार रुपैयाँ, तेस्रोका लागि १५ हजार रुपैयाँ र चौथो वा सो भन्दा माथिका लागि २० हजार रुपैयाँ बालबालिकाको नाममा बचत हुनेछ ।

दुई वा सो भन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत रकम जम्मा गर्ने व्यवस्था गरिएको छ ।

गत आर्थिक वर्षमा पहिलो सन्तान जन्माउने २५ जना, दोस्रो ३३ जना तेस्रो सन्तान जन्माउने १० जना र चौथो सन्तान जन्माउने ४ जना र पाँचाँै र छैटौँ सन्तान जन्माउने १-१ जना लाभान्वित भएका छन् ।

बढ्दो बसाई सराई, घट्दो जन्मदर बढाउउन यो कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । गाउँ रित्तिदै जानु, जेष्ठ नागरिक बढ्नु, विपन्न परिवारको आर्थिक संकट तथा आधारभूत सेवामा सीमित पहुँच जस्ता चुनौती बढ्दै जाँदा सो कार्यक्रम अघि सार्नु परेको उनको भनाई छ । तिगेला भन्छन्, ‘यसले जनसंख्या सन्तुलन हुन्छ भन्ने त हैन तर पहाडी क्षेत्रको समस्या उजागर गर्न एक सांकेतिक कार्यक्रम हो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *