औषधीको मूल्य समायोजन हुँदै, मूल्य अनुगमन समितिको बैठकबाट सदर भयो समायोजनको प्रस्ताव

काठमाडौँ, १ साउन । सरकार औषधीको मूल्य समायोजन गर्ने तयारीमा अघि बढेको छ । समयानुकुल मूल्य समायोजन नहुँदा देशमा बेलाबखक अत्यावश्यक औषधीको अभाव हुने गरेको थियो ।
त्यसरी बेला बखतमा हुने औषधी अभावलाई सुल्झाउन शुक्रबार औषधी व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले मूल्य समायोजनको विषयलाई अघि बढाउने निर्णय गरेको हो ।
‘केही औषधीहरुको मूल्य कम भएकै कारण उपलव्धतामा समस्या भएको छ र बेलाबखतमा अभाव भइरहेको छ । केही औषधीहरुको मूल्य कम भए पनि पहिले तोकिएको मूल्य बढी छ त्यसैले त्यसलाई घटाउनु पर्ने छ । त्यसैले हामीले औषधीको मूल्य समायोजन गर्ने गरी प्रस्ताव अगाडी बढाएका छौँ,’ उनले भनिन् ।
त्यसो त मूल्य समायोजनको विषयमा समितिको बैठकले गरेको सिफारिस सम्वन्धी विषय स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बस्ने औषधी परामर्श परिषद्को बैठकमा पेश हुन्छ । सो बैठकबाट पारित भएपछि मात्रै मूल्य बढाउने विषय मन्त्रिपरिषद्मा पेश हुने गर्दछ । मन्त्रिपरिषद्ले समेत पास गर्यो भने मात्र राजपत्रमा सूचना प्रकाशित भई त्यसको कार्यान्वयन हुनेछ ।
शुक्रबारको बैठकमा नेपाल औषधी उत्पादक संघ, नेपाल औषधी व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसिएसन लगायतका सदस्य संस्थाहरु सहभागी थिए । यस्तै आमन्त्रित संस्थाको रुपमा नेपाल औषधी आयातकर्ता संघ, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्वल चालिसे, क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाई लगायतका व्यक्तिहरुलाई समेत आमन्त्रित गरिएको थियो ।
पछिल्लो समय प्लाटिनम समूहको औषधीहरु कार्वोप्लाटिन,सिस्प्लाटिन, अक्जिप्लाटिन जस्ता औषधीहरुको अभाव भईरहेको थियो । केही स्लाइनजन्य औषधीहरुको पनि अभाव भएको थियो । यी औषधीहरुको यस्ता औषधीहरुको मूल्य समायोजन हुन्छ । भारतमा औषधीको मूल्य निर्धारण गर्ने सरकारी निकाय नेशनल फर्मास्युटिकल प्राइसिङ अथुरिटी (एनपीपीए)ले निर्धारण गरेको दर रेटलाई आधार बनाई औषधीको मूल्य समायोजन गर्ने भनिएको छ ।
यसैबीच नेपाल औषधी आयातकर्ता संघले औषधीको मूल्य समायोजनमा स्वचालित प्रणाली लागू गर्नुु पर्ने दोहोर्याएको छ । ‘अहिलेको प्रस्ताव एनपीपीएले जति निर्धारण गरयो त्यहि भन्ने छ, तर एनपीपीएले तोकेको मूल्यमा कुनै पनि कर लगाइएको हुँदैन । हामीले नेपालमा औषधी आयात गर्दा थुप्रै कर र ढुवानीमा खर्च गर्नु पर्छ । ती कुरालाई समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ संघका अध्यक्ष पवन आचार्यले भने ।
यसअघि स्वास्थ्य मन्त्री निशा मेहताले संसदमा औषधीमा स्वचालित मूल्य प्रणाली लागू हुने भनेको स्मरण गर्दै त्यसमा भने आफूहरुको समर्थन रहेको स्पष्ट पारे ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 
