काठमाडौँ बन्यो पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला

20
Shares

काठमाडौँ, १ साउन । काठमाडौँ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाको रुपमा घोषित भएको छ ।

तोकिएको मापदण्ड पुरा भएपछि प्रदेश खोप समन्वय समितिले विहीबार काठमाडौँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्दै प्रमाणपत्र दिएको हो । कार्यक्रममा प्रदेश समन्वय समितिका अधिकारीहरुले जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख सागर घिमिरेलाई पूर्ण खोप तथा दिगोपना सुनिश्चिताको प्रमाणपत्र दिएका थिए ।

त्यसअघि जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख घिमिरेले पूर्णखोप घोषणा हुनु अघिका प्रक्रियाहरुबारे बताएका थिए । कार्यक्रममा बोल्दै उनले भने, ‘स्थानीय तहको घोषणा सम्पन्न भएपछि जिल्ला हकमा प्रदेश स्तरबाट भेरिफिकेसन भएर प्रमाणीकरण गरी स्वीकृत भएपछि हामी जिल्ला स्तरको कामहरू गर्छौँ।  सर्वेक्षण गरिएको १६ देखि २३ महिनाको कुल बच्चाहरुको संख्या १७ हजार ३ सय १८ थियो भने पूर्ण खोप प्राप्त गरेका बच्चाको संख्या १७ हजार १ सय ९ थियो भने शुन्य डोज पाएको चाहिँ तीन जना र बीचमा छुटेका १२८ जना थियो । त्यसरी छुटेका बालबालिकाहरुको पहिचान भई खोप प्रदान गरेपछि पूर्ण खोपका लािग सबै प्रक्रियाहरू सम्पन्न गरेपछि यो घोषणा गरिएको हो ।’

उनले स्थानीय तहमा ५ जेठमा दक्षिणकाली नगरपालिकाबाट सुरु गरी अन्त्यमा ३१ असारका दिन बुढानिलकण्ठ नगरपालिकामा यो काम सम्पन्न भएको बताए ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पूर्ण खोपको महत्व र यसको दिगोपनाका विषयमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा पूर्ण खोप अभियानमा सहयोग गरेको भन्दै सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका खोप अधिकृतहरुलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *