फेरी चुक्यो स्वास्थ्य मन्त्रालय:

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको नतिजा प्रकाशित हुनु पर्ने बेलामा दरखास्त नै रद्द

296
Shares

काठमाडौँ, ३० असार । स्वास्थ्य सबै भन्दा ठूलो र महत्वपूर्ण मानिएको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक नभएको महिनौ भयो ।  स्वास्थ्य मन्त्रालयबाट खटाइएकी एघारौँ तहकी नर्सिङ अधिकृत सकुन्तला प्रजापतिले अहिले बोर्डको निमित्त कार्यकारी निर्देशकको रुमपा कामकाज चलाएकी छन् ।

गत २ असारमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १५ दिनको म्याद राखेर सो पदमा दरखास्त आव्हान गरेको थियो । १६ असारमा दरखास्त दिएका १२ जनाको नाम सार्वजनिक समेत गरेको थियो । तर अब ‘फलानो कार्यकारी निर्देशकमा नियुक्त भए’ भनेर समाचार आउने बेलामा मन्त्रालयले यसअघिको दरखास्त नै रद्द भएको सूचना निकाल्यो ।

सूचनामा स्वास्थ्य बीमा ऐन २०७४ को दफा २२ बमोजिम लोक सोव आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिले सोही ऐनको दफा २२ को उपदफा (४) मा व्यवस्था भए बमोजिम सो समिति आफैले ले कार्यविधि बनाई दरखास्त आव्हान गर्ने व्यवस्था भएकोले २ असारको दरखास्त रद्ध भएको बताएको छ ।

यो सूचना अनुसार पहिले गरिएको दरखास्त आव्हान स्वास्थ्य बीमा ऐन नै नटेकी हचुवाको भरमा छनौट प्रक्रिया अघि बढाएको जस्तो देखिएको छ । स्वास्थ्य मन्त्रालयका निमित्त प्रवक्ता डा समिरकुमार अधिकारीले लोक सेवा आयोगबाट झन् पारदर्शी तरिकाले छनौट हुने भएकोले त्यताबाट यो प्रक्रिया अघि बढाउने निर्णय भएको बताउँछन् । उनले यसअघिको निर्णय ऐन भन्दा बाहिरबाट भएको थियो भन्ने प्रश्नमा उनी बोल्न चाहेनन् ।

यी हुन् गत २ असारमा प्रकाशित सूचना अनुसार कार्यकारी पदमा आवेदन दिनेहरु

 

स्वास्थ्यको नेतृत्व कच्चा
स्वास्थ्य मन्त्री निशा मेहताको कार्यक्षमताको विषयमा यसअघि पटक पटक कुरा उठि नै रहेको छ । तर उनी आफ्नो क्षमताले भ्याएसम्म गरि नै रहेको दावी गर्ने गरेकी छन् । उनको दावी ठिकै होला ।

तर स्वास्थ्यमा निर्णयहरु एक पछि अर्को गर्दै यसरी उल्टिनु र विवादित हुनुले उनी आफूले दावी गरेको क्षमतामा नै प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन बढी भर पर्ने स्वास्थ्य मन्त्रीलाई स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वले पनि ‘अड्कलेरै’ सहयोग गरेको जस्तो देखिन्छ । त्यसको पछिल्लो उदाहरण स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आव्हान भएको दरखास्त एक महिना पछि बदर हुनु हो ।

त्यसो त मन्त्री मेहताले स्वास्थ्य हेर्नका लागि अवैतनिक थुप्रै सल्लाहकार राखेको बताइन्छ । तर उनीहरुको सल्लाह लिएर कार्यन्वयनमा जान समेत उनी अनकनाउछिन् । ‘उहाँले सल्लाह लिनु हुन्छ । दियो भने शंकाको दृष्टिले हेर्नुहुन्छ । त्यसैले बेला बेलामा कामकुरो फेल खाइरहेको छ,’ एक जना अवैतनिक सल्लाहकारले भने ।

मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले अब छिटै लोकसेवाबाट नयाँ दरखास्त आव्हान हुने र त्यसबेला इच्छुकले दरखास्त दिन सक्ने बताए । उनले अहिले दरखास्त हालेका व्यक्तिहरुले प्रतिस्पर्धामा जान चाहेमा पुन दरखास्त हाल्नु पर्ने स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *