प्रधानमन्त्री शाहद्वारा सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन

24
Shares

काठमाडौँ, ३० असार । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था होस भन्दै प्रदेश स्तरमा जनल उपचार केन्द्र स्थापनाका लागि निर्देशन दिएका हुन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्तउपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवासमेत सुदृढ बनाउनु पर्नेमा उनको जोड थियो ।

बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिए ।

यसैगरी प्रधानमन्त्रीले अस्पतालको सेवा सुधारमा चासो व्यक्त गर्दै अस्पतालमा सरसफाइ राम्रो हुनुपर्ने, बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने र अस्पतालमा देखिने गरेको अनावश्यक भिड कम गर्ने उपाय खोज्न पनि निर्देशन दिएका थिए ।

प्राडा आचार्यका अनुसार अहिले जलनका गम्भीर बिरामी सीमित अस्पतालमा मात्रै केन्द्रित हुनुपर्ने अवस्था रहेकाले प्रत्येक प्रदेशमा कम्तीमा एउटा सुविधासम्पन्न जलन उपचार केन्द्र आवश्यक रहेको प्रधामन्त्रीको धारणा थियो ।

छलफलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा आचार्य सहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा। स्मृति काफ्ले सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *