डा. दासमाथि लाग्यो घुस लिएको आरोप, अख्तियारद्धारा नियन्त्रणमा लिएर अनुसन्धान थालनी

काठमाडौँ, २४ असार । घुस लिएको आरोपममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा.राम पवित्र दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही आरोपमा उनीसंगै रहेका हलुका सवारी चालक भोगेन्द्र यादव पनि पक्राउ परेका छन् ।
आयोगका अनुसार डा दास माथि भ्याक्सिनेटरहरूले सेवा दिएबापत पाउने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको भन्ने उजुरी प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।
सोही उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राजविराज नगरपालिका–३ स्थित कार्यालय परिसरबाट चालक यादवलाई घुसबापत लिएको ३३ हजार ३५० रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानका क्रममा उनको साथबाट स्रोत खुल्न नसकेको ४८ हजार ७० रुपैयाँसमेत बरामद भएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा टोलीले निमित्त कार्यालय प्रमुख डा. दासको कार्यकक्षबाट विभिन्न रकम उल्लेख भएका चार थान चेक बरामद गरेको छ ।
जसको कुल रकम १ लाख २९ हजार रुपैयाँ रहेको छ। त्यहाँबाट एक थान मोबाइल पनि बरामद गरिएको आयोगले जनाएको छ।
यस्तै, डा. दासको साथबाट एक थान मोबाइल र १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद भएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार बरामद भएका नगद, चेक तथा अन्य सामग्री नियन्त्रणमा लिई दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



