स्वास्थ्यमन्त्री मेहताबिरुद्ध फेसबुकमा ‘चर्को स्टाटस’ लेख्ने स्वास्थ्यकर्मी पक्राउ
जनकपुर, २३ असार । स्वास्थ्य मन्त्री निशा मेहता बिरुद्ध सामाजिक सञ्जालमा चर्को स्टाटस लेख्ने स्वास्थ्यकर्मी नबेश अधिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ साढे ७ बजे जनकपुरबाट पक्राउ गरेको हो ।
स्थानीय स्वास्थ्यकर्मीहरुले मन्त्रीको आलोचना गरेकै आधारमा बिना पुर्जी अधिकारीलाई पक्राउ गरेको भन्दै बिरोध गरेका छन् ।
‘उनी हेल्थ असिस्टेन्ट हुन् । निजी स्वास्थ्य संस्थामा काम गर्दथे, अहिले लोक सेवाको तयारीमा थिए । तर स्वतन्त्र रुपमा स्वास्थ्यकर्मीहरुको हक हितको आवाज उठाउँथे, चित्त नबुझेको कुरामा सामाजिक सञ्जालमा लेख्थे । स्वास्थ्य मन्त्रीको भनाई र गराईमा भिन्नता देखिएको भन्दै उनले कडा कडा स्टाटस पनि लेखेका थिए । मन्त्रीको राजिनामा समेत मागेका थिए । त्यसैले उनलाई पक्राउ गरियो । प्रहरीलाई सोध्दा माथिको आदेश भनिएको छ । यो त कानूनी राज्यको उल्लंघन भयो नि,’ एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
अधिकारीले गत शनिबार आफ्नो फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको फोटो रातो मसिले क्रस (इन्टू) गर्दै माफिया मन्त्री भनेर राखेका थिए । यस्तै स्टाटसमा ‘निशा मेहता, तिमी सरकारले गरेको प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ । आखित के गर्दैछौ ? लाज बेचिसक्यौ भने स्वास्थ्य मन्त्री पदबाट राजिनामा देउ,’ भनेर लेखेका थिए ।
स्वास्थ्यकर्मीहरुले सोही स्टाटसका आधारमा साइबर व्यूरोमा उजुरी परेर पक्राउ परेको हुन सक्ने बताएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

