बोर्डद्धारा स्वास्थ्य बीमा सेवा प्रदायक अस्पतालहरुमा गत मंसिरसम्मको बक्यौता फरफारक
सेवा प्रदायक अस्पतालहरुलाई चालु आवमा मै बाँढियो २३ अर्व ४४ करोड रुपैयाँ
काठमाडौँ, २१ असार । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भुक्तानी गरेको जनाएको छ ।
चालु वर्षका लागि सरकारले १० अर्व मात्रै बजेट छुट्याएको थियो । स्वास्थ्य तथा अर्थ मन्त्रालयले सञ्चालनमा नआउने विभिन्न कार्यक्रमहरुबाट बजेट रकमान्तर गरेर बोर्डका लागि थप रकम उपलव्ध गराएको हो ।
बोर्डले यो भुक्तानीसंगै स्वास्थ्य प्रदायक संस्थाहरुको बक्यौता रकम गत मंसिर मसान्तसम्मको फरफारक भएको जनाएको छ । बोर्डले त्यसपछिका बाँकी भुक्तानीका लागि पनि पहल भईरहेको जनाएको छ ।
बोर्डले बक्यौता रकमको भुक्तानीमा बढोत्तरी र छिटो छिटो हुँदै आएकोले सेवा प्रदायकहरुले पनि सेवाग्राहीहरुको उपचारमा कुनै प्रकारको अवरोध वा कठिनाई सिर्जना नगरी मापदण्ड अनुसार सेवा उपलव्ध गराउन अनुरोध गरेको छ ।
यस्तै बीमित सेवाग्राहीहरुले स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दवाव नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दीगोपन र प्रभावकारिता कायम राख्न समेत अनुरोध गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रममा १५ अर्व रुपैयाँ विनियोजन गरेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

