शुल्क नतिर्ने मेडिकल तथा डेन्टल कलेजलाई दर्ता सेवा रोक्ने नेपाल मेडिकल काउन्सिलको चेतावनी

20
Shares

काठमाडौं, १९ असार १९ । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कबापत काउन्सिललाई बुझाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी नगर्ने मेडिकल तथा डेन्टल कलेजहरूको विद्यार्थीको अस्थायी दर्ता (Provisional Registration) र विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता (Foreign National Doctors Registration) प्रक्रिया रोक्ने चेतावनी दिएको छ।

काउन्सिलले बिहीबार सूचना जारी गर्दै नेपालमा चिकित्सा शिक्षा सञ्चालन गरिरहेका विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना तथा अन्य शीर्षकमा काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि भुक्तानी नगरेको जनाएको छ।

यसअघि काउन्सिलले २०८२ चैत २७ गते गोरखापत्रमार्फत र २०८३ बैशाख २४ गते आफ्नो आधिकारिक वेबसाइटमार्फत बाँकी रकम बुझाउन आग्रह गरेको थियो। ती सूचनापछि आफ्नो दायित्व पूरा गरी बाँकी रकम बुझाएका संस्थाहरूलाई काउन्सिलले धन्यवाद समेत दिएको छ।

तर पटक–पटकको सूचना र पत्राचारका बाबजुद पनि केही मेडिकल तथा डेन्टल कलेजहरूले हालसम्म बाँकी रकम नतिरेको काउन्सिलको भनाइ छ । ती संस्थाहरूलाई बाँकी रकम उल्लेख गर्दै काउन्सिलको २०८३ जेठ १८ गतेको पूर्वनिर्णयअनुसार पुनः पत्राचार गरिएको जनाएको छ।

काउन्सिल रजिष्ट्रार डा दिपेन्द्र पाण्डेद्धारा जारी सूचनामा यस्तो निर्णयका कारण विद्यार्थी वा संस्थालाई पर्न जाने असुविधा तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित मेडिकल तथा डेन्टल कलेज स्वयंले वहन गर्नुपर्ने काउन्सिलले स्पष्ट पारिएको छ ।

कति छ बक्यौँता ?
काउन्सिलका अनुसार चिकित्सा शिक्षा अध्यापन गराउने देशभरका २७ वटा कलेज तथा प्रतिष्ठानहरुमध्ये १२ बटाले रकम बुझाई सकेका छन् । अरु १५ वटाले २ करोड ७५ लाख ५७ हजार रुपैयाँ तिर्न बाँकी छ ।

काउन्सिलका अनुसार बिराट मेडिकल कलेज, देवदह मेडिकल कलेज, गण्डकी मेडिकल कलेजले रकम बुझाएकी छन् ।

यस्तै कन्तिपुर डेन्टल कलेज, लुम्बिनी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पिपल्स डेन्टल कलेज, युनिभर्सल मेडिकल कलेज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र बीएनसी मेडिकल कलेजले रकम बुझाएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *