‘एचआईभी संक्रमितलाई उपचारमा जानै समस्या’

56
Shares

काठमाडौँ, १८ असार । एचआईभी संक्रमितलाई अस्पतालमा गएर उपचार गर्न परे सबैभन्दा समस्या छ । शल्यक्रिया गर्न त एकदमै अफ्टेरो छ । सरकारीमा केही ठाउँमा मात्रै होला निजी अस्पतालमा गए दोब्बर तेब्बर बढी शुल्क तिर्नुपर्छ । जागृती महिला समूहकी एक प्रतिनिधिले अगाडी थपिन्, ‘एचआईभी संक्रमितमाथिको भेदभाव र लान्छना स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुबाट अझै घटेको छैन ।’

जनस्वास्थ्य कार्यालय काठमाडौँमा विहीबार आयोजित एचआईभी सम्वन्धि लान्छना तथा भेदभाव कम गर्न सरोकारवाला निकायबीचको अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय एचआईभी एड्स सञ्जालकी अर्की प्रतिनिधिले भनिन्, ‘हेल्थ असिस्टेन्ट पढ्नका लागि भर्ना भइसकेको एक विद्यार्थी संक्रमित भएको थाहा भएपछि हठात रुपमा निकालियो र भनियो तिमीलाई यहाँ अध्ययन् गर्दा प्राक्टिकल गर्दा अरु मानिसलाई एचआईभी सर्न सक्ने जोखिम रहयो ।’

‘पढेलेखेका, स्वास्थ्य क्षेत्र बुझेका व्यक्तिहरु संक्रमित प्रति यति भेदभावमा रहेपछि यसबारेमा नुबुझेका वा गलत बुझेका व्यक्तिको व्यवहार झन् कस्तो होला ?’ सोही संस्थाका एक प्रतिनिधिले भने ।

कार्यक्रमको सहजीकरण गरेका जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत सरोज रोकाले एचआईभी संंक्रमितहरुको के कस्ता समस्या छन् ? उनीहरुमाथिको लान्छना र भेदभाव कम गर्न कसरी सहकार्य गर्न सकिन्छ भन्ने हेतुले प्रमुख सरोकारावाबीच छलफल कार्यक्रम गरिएको बताए ।

त्यसअघि जनस्वास्थ्य अधिकृत मनिश कायस्थले एचआईभी एड्स, यसको संक्रमणको अवस्था र संक्रमित माथिको भेदभाव र लान्छनाबारे प्रस्तुति दिएका थिए । सो क्रममा उनले पीएल एचआईभीका बारेमा हुने टिका टिप्पणी, यसले गर्ने असरका साथै न्युनिकरणका उपाय के हुन सक्छ भन्दै प्रतिप्रश्न गरेका थिए ।

नेपालमा अहिले ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको अनुमान छ । त्यसमध्ये १५ वर्ष माथिका संक्रमितको संख्या ३३ हजार २७९ रहेको छ । विश्वमा हरेक दिन ३ हजार ६०० जना एचआईभी संक्रमित थपिदै गर्दा नेपालमा प्रतिदिन १.७ अर्थात २ जना एचआईभीबाट संक्रमित हुने गरेको कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रममा नेपाल प्रहरी, एचआईभीको क्षेत्रमा काम गर्ने संस्थाहरु र सञ्चाकर्मी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *