‘एग’ दानका लागि नेपालका थारू समुदायका युवतीहरूलाई भारतमा तस्करी गरिएको खुलासा

काठमाडौँ, १८ असार । नेपालका थारू समुदायका युवतीहरूलाई भारतमा अवैध रूपमा अण्डाणु (एग) दान गराउन फसाउने काम भइरहेको खुलेको छ। भारत–नेपाल सीमामा सक्रिय अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहले अपनाएको यो नयाँ मोडस अपरेन्डी भएको बताइएको छ।
भारतीय अखबार दैनिक भास्करको टोलीले पटनाबाट करिब ८६० किलोमिटर टाढा नेपालका कैलाली र कञ्चनपुर जिल्लामा पुगेर यस विषयमा स्थलगत रिपोर्टिङमा यस्तो खुलासा भएको हो ।
दैनिक भास्करले आफ्नो समाचारमा भनेको छ, अनुसन्धानका क्रममा चकित पार्ने तथ्यहरू बाहिर आएका छन् ।
समाचारमा अगाडी भनिएको छ, ‘मानव तस्करहरूको मुख्य निशानामा नेपालका थारू समुदायका युवतीहरू छन्। यसको प्रमुख कारण उनीहरूको आर्थिक अवस्था कमजोर हुनु र सीमावर्ती क्षेत्रमा थारू समुदायको ठूलो जनसंख्या हुनु हो।’
तस्करहरूले उनीहरूलाई मासिक ३० हजारदेखि ६० हजार भारतीय रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर उत्तर प्रदेशको बाटो हुँदै दिल्ली पुर्याउने प्रयास गरिरहेका छन्।
निःसन्तान दम्पतीका लागि अण्डाणु प्रयोग
तस्करहरूको उद्देश्य युवतीहरूबाट अण्डाणु ९एग० दान गराउनु हो। यी अण्डाणु निःसन्तान महिलाको गर्भाधान प्रक्रियामा प्रयोग गरिन्छ । यसबापत आवश्यक सेवाग्राही दम्पतीबाट ४ देखि ५ लाख भारतीय रुपैयाँसम्म असुल गरिने गरेको बताइएको छ ।
नेपालमा तीन दिनसम्म गरिएको अनुसन्धानका क्रममा भास्करको टोलीले स्थानीय गैरसरकारी संस्थाको सहयोगमा हालै दिल्ली बोलाइएकी एक युवतीलाई भेट्टायो। टोलीले कञ्चनपुर जिल्लाकी थारू समुदायकी एक युवती ‘रमा’ (नाम परिवर्तन गरिएको) र उनका परिवारसँग भेटवार्ता गरेको जनाएको छ ।
अनुसन्धानबाट भारतमा बसोबास गरिरहेका केही नेपाली महिलाको सहयोगमा तस्करहरूले नेपालका युवतीहरूलाई फसाउने गरेको खुलेको छ।
सामाजिक सञ्जालबाट चिनजान, त्यसपछि अण्डाणु दानको प्रस्ताव
दिल्लीमा बस्ने एक नेपाली महिलाले सामाजिक सञ्जालमार्फत नाबालिग रमासँग सम्पर्क गरेकी थिइन्। उनले आकर्षक जीवनशैली देखाउने फोटो तथा भिडियो पठाएर अण्डाणु दान गर्नु भनेको रक्तदान जत्तिकै सामान्य प्रक्रिया भएको विश्वास दिलाउने प्रयास गरिन्।
रमालाई दिल्ली आएर प्रत्येक अण्डाणु दानका लागि ३० हजार भारतीय रुपैयाँ (करिब ४८ हजार नेपाली रुपैयाँ) दिने प्रलोभन दिइएको थियो।
उनलाई भारत–नेपाल सीमा पार गर्न मात्र भनिएको थियो। त्यसपछि गौरीफन्टा नाकाबाट दिल्लीसम्म पुर्याउने सम्पूर्ण व्यवस्था तस्करहरूले मिलाउने आश्वासन दिएका थिए। विश्वास दिलाउन सामाजिक सञ्जालमार्फत दिल्ली अण्डाणु दानका लागि गइरहेका नेपालकै अन्य दुई युवतीसँग पनि उनको सम्पर्क गराइएको थियो।
तर, रमा दिल्ली जाने क्रममा गौरीफन्टा सीमामा सुरक्षाकर्मीको निगरानीमा परेपछि उनलाई रोकिएको थियो।
भास्करको टोली रमा बस्ने गाउँमा पुग्दा उनको परिवार गम्भीर आर्थिक समस्यामा रहेको पाइएको थियो। उनका बुबा दैनिक ज्यालादारी मजदुरी गरेर परिवार पालिरहेका छन्।
दुधवा राष्ट्रिय निकुञ्ज आसपासको सीमा मानव तस्करीको प्रमुख मार्ग
मानव तस्करीसम्बन्धी सूचनाको पुष्टि गर्न भास्करको टोलीले नेपालका केही सक्रिय संस्थासँग सम्पर्क गरेको थियो। प्राप्त जानकारीका आधारमा टोलीले तस्करहरूले प्रयोग गर्ने भनिएको मार्ग नै रोजेको थियो।
टोली पटनाबाट गोरखपुर, त्यसपछि मैलानी र पलिया हुँदै दुधवा राष्ट्रिय निकुञ्जको करिब ३० किलोमिटर लामो घना जंगल पार गरेर गौरीफन्टा सीमा नाकामा पुगेको थियो।
स्थानीय स्रोतका अनुसार यही मार्गबाट धेरैजसो युवतीहरू भारत लैजाने गरिन्छ, किनभने यस क्षेत्रमा धेरै किलोमिटरसम्म मोबाइल नेटवर्क उपलब्ध हुँदैन।
सीमामा रोकिएकामध्ये ९४ प्रतिशत महिला र बालिका
भारत–नेपाल खुला सीमाका कारण मानव तस्करीको यकिन सरकारी तथ्यांक उपलब्ध छैन। तर सीमा क्षेत्रमा सुरक्षा निकाय र गैरसरकारी संस्थाहरू सक्रिय छन्।
शंकास्पद अवस्थामा भेटिएका व्यक्तिसँग सोधपुछ गरिन्छ। उद्धार गरिएका युवतीहरूको गैरसरकारी संस्थामार्फत परामर्श (काउन्सेलिङ) गराई उनीहरूलाई परिवार कहाँ फर्काइन्छ।
नेपाल राष्ट्रिय मानवअधिकार आयोगले सन् २०२६ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार हरेक वर्ष औसतमा ७,४०० जनालाई मानव तस्करीको आशंकामा सीमा क्षेत्रमा रोक्ने गरिएको छ। तीमध्ये ५२ प्रतिशत महिला र ४२ प्रतिशत नाबालिका छन्।
मानवअधिकार आयोगको चेतावनी
नेपाल राष्ट्रिय मानवअधिकार आयोग, कैलालीका सहसचिव प्रकाश दत्त भट्ट भन्छन्, ‘अवैध अण्डाणु दान गराउने उद्देश्यले नेपालबाट महिलाहरूको तस्करी गर्नु अहिले नयाँ प्रवृत्तिका रूपमा देखिएको छ। विशेषगरी दुर्गम र गरिब क्षेत्रमा जनचेतनाको अभावको फाइदा उठाउँदै तस्करहरूले अत्यन्त योजनाबद्ध र चलाख ढंगले महिला तथा बालिकाहरूलाई आफ्नो जालमा पारिरहेका छन्।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

