तमिलनाडुमा सरकारी अस्पतालमा जन्मिने हरेक नवजात शिशुले एक ग्राम सुनको औँठी पाउने

चेन्नई । भारतको तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुका लागि ‘थाइमामान थङ्गा मोधिरा थिट्टम’ नामक नयाँ योजना लागू गर्ने भएको छ । यस योजनाअन्तर्गत सरकारी अस्पतालमा जन्मिएका प्रत्येक नवजात शिशुलाई एक ग्राम सुनको औँठी प्रदान गरिनेछ ।
यस योजनाको कार्यान्वयनका लागि राज्य सरकारले वार्षिक ७५५.८३ करोड रुपैयाँ विनियोजन गरेको छ । अधिकारीहरुले यो सुविधा केवल तमिलनाडुका स्थायी बासिन्दा रहेका अभिभावकका सरकारी अस्पतालमा जन्मिएका शिशुका लागि मात्र लागू हुने बताएका छन् ।
मुख्यमन्त्री सी. जोसेफ विजयले आगामी सेप्टेम्बर १५ मा पूर्वमुख्यमन्त्री सी.एन. अन्नादुराईको जन्मजयन्तीको अवसरमा यस योजनाको औपचारिक शुभारम्भ गर्नेछन् । यद्यपि योजना जुन २२, २०२६ अर्थात् मुख्यमन्त्री विजयको जन्मदिनदेखि नै लागू भएको मानिने बताइएको छ ।
यो योजना टीभीके नेतृत्वको सरकारको ‘वेत्री तमिऴगम’ दृष्टिपत्रअन्तर्गत समावेश गरिएको प्रमुख कार्यक्रम हो । विधानसभा निर्वाचनअघि विजयले यस्तो योजना ल्याउने घोषणा गरेका थिए, तर त्यसबेला सुनको औँठीको तौल उल्लेख गरिएको थिएन ।
सरकारले गत साता जारी विज्ञप्तीमा यस योजनाको उद्देश्य सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशु र आमाको सम्मान गर्नुका साथै मातृ तथा शिशु स्वास्थ्यलाई थप प्रोत्साहन गर्नु रहेको उल्लेख गरेको छ ।
तमिलनाडु सरकारले विगतदेखि नै गर्भवती महिलाका लागि आर्थिक सहायता, निःशुल्क प्रसूति तथा नवजात शिशु उपचार सेवा, आकस्मिक प्रसूति सेवा, पोषण कार्यक्रम, जन्म योजना सेवा तथा प्रेग्नेन्सी एन्ड इन्फ्यान्ट कोहोर्ट मनिटरिङ एन्ड इभ्यालुएसन सफ्टवेयरमार्फत गर्भवती महिला र शिशुको निगरानीजस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अधिकारीहरुका अनुसार पूर्ववर्ती डीएमके र एआईएडीएमके सरकारहरूले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूको निरन्तरताले राज्यमा मातृ तथा शिशु स्वास्थ्य सूचकाङ्कमा उल्लेखनीय सुधार आएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

