नेपाली चिकित्सकहरुको नयाँ संस्था ‘नेप्लिज सोसाइटी फर इक्विलिब्रियम एण्ड व्यालेन्स’ स्थापना, अध्यक्षमा डा. न्यौपाने

52
Shares

काठमाडौँ, १३ असार । बिरामीहरुले अस्पतालमा गई स्वास्थ्य सेवा लिन खोज्ने प्रमुख स्वास्थ्य समस्याहरुमा, चक्कर आउने (डेजिनेश) घुम्ने महसुस हुने (भर्टिगो) तथा सन्तुलन सम्वन्धी समस्याहरु (व्यालेन्स डिसअर्डर) सम्वन्धी पनि हुने गरेको छ ।

यस्ता समस्याहरुले सबै उमेर समूहका मानिसहरुलाई असर गर्ने गरेको छ । यसले जीवनको गुणस्तरमा उल्लेखनीय रुपमा ह्रास ल्याउनुका साथै लड्ने तथा चोटपटक लाग्ने जोखिम समेत बढाउँछ । यस्तै कार्यक्षमता घटाउने र बिरामी, परिवार तथा स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार सिर्जना गर्दछ ।

यही रोगहरुको प्रभावकारी व्यवस्थापन गर्न नाक कान घाँटी विशेषज्ञ, न्युरोलोजिष्ट, अडियोलोजिष्ट, फिजियोथेरापिष्ट, मनोचिकित्सक, नेत्ररोग विशेषज्ञ तथा प्राथमिक स्वास्थ्य चिकित्सकहरुको बहुआयामिक सहकार्य आवश्यक हुन्छ । यहि आवश्यकतालाई महसुस गर्दै नेप्लिज सोसाइटी फर इक्विलिब्रियम एण्ड व्यालेन्सको स्थापना भएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा नवगठित संस्थाको पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको परिचयात्मक साथै सिएमई कार्यक्रमको आयोजना गरियो ।

कार्य समितिमा को को ?
समितिको अध्यक्षमा डा. योगेश न्यौपाने रहेका छन् । महासचिव पदमा डा. रागेश कर्ण र कोषाध्यक्ष पदमा डा. साहरा अधिकारी रहेकी छन् । सदस्यहरुमा प्राडा रविन्द्रभक्त प्रधानांग, डा. पारश रायमाझी, डा प्रतिक्षा चालिसे, डा. कृपा डंगोल, डा. सांज्ञ पौडेल, डा. मञ्जु ज्ञवाली, डा. धर्म डंगोल रहेका छन् ।

समितिको सल्लाहकारमा प्राडा हरि भट्टराई, प्राडा कृष्णकुमार ओली, प्राडा सरोजप्रसाद ओझा र प्राडा विक्रमप्रसाद गजुरेल रहेका छन् ।

नवनियुक्त अध्यक्ष डा. न्यौपानेले संस्थाको उदेश्य नेपालभरी चक्कर लाग्ने, रिगाउने, तथा सन्तुलन सम्वन्धी रोगहरुको निदान, उपचार तथा पुर्नस्थापना सम्वन्धी सेवामा सुधार ल्याउनु रहेको बताए । यस्तै उनले यस विषयमा सचेतना अभिवृद्धि गर्ने, विभिन्न शैक्षिक तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, जसले मानिसलाई समयमै लक्षणहरु पहिचान गर्न सजिलो हुने बताए ।

विश्वमै २० देखि ३० प्रतिशत बयस्कहरुले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा चक्कर आउने अनुभव गर्दछन् । ६५ वर्ष माथिका करीव एक तिहाई व्यक्तिहरु सन्तुलन सम्वन्धी समस्याबाट प्रभावित हुन्छन् । औषत आयु बढ्दै जाँदा भेस्टिवुलर तथा सन्तुलन सम्बन्धी रोगहरुको भार अझ बढ्ने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *