जर्मनीको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट

काठमाडौं, १ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग सोमबार जर्मनी सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) अन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयका अनुसार भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यू, जिआइजेड र पीटीबी नेपाल का प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
भेटका क्रममा नेपाल–जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो। साथै, नेपालको स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मनी सरकारले प्रदान गर्दै आएको सहयोगको उच्च प्रशंसा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारबाट प्राप्त निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गरिन । साथै उनले सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन
सो अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै वर्तमान आवश्यकता तथा सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा आगामी दिनमा समेत सहयोग, साझेदारी र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

