गर्मीबढेसँगै बढे सर्पदंशका बिरामी

काठमाडौँ, १ असार । महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रुपमा पाँच जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्।
जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारी काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ ।
उपचारका लागि अस्पतालमा पुग्नेमध्ये बढी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उनले जानकारी दिए ।
महोत्तरीमा विषरहित ढोरिया र हरहरा तथा विषालु सबैभन्दा बढी करेत र गोमन सर्पहरु बढी पाइने गरेको छ ।
गत वैशाख महिना मात्रै २३ जना सर्पले डसेका बिरामी उपचारका लागि अस्पताल पुगेकामा जेठमा त्यो सङ्ख्या बढेर ५६ जना पुगेको छ ।
महोत्तरीका १० वटै नगरपालिका र पाँच गाउँपालिकामा गर्मीयाममा सर्पको जोखिम रहेको छ । अस्पतालमा सीमापारी भारतको विभिन्न ठाउँठाउँबाट पनि बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएकोछ ।
अस्पताल प्रशासनका अनुसार सर्पले डसेको बिरामीलाई दिइने एन्टिभेनम (औषधि) पर्याप्त मात्रामा रहकाले उपचारमा समस्या भने रहेको छैन ।
अस्पतालमा आइसियु कक्ष नरहेकाले विषालु सर्पले डसेर आउने उच्च जोखिमका बिरामीलाई थप उपचार गर्न अन्य अस्पतालबाट रेफर गर्नुपर्ने बाध्यता भने रहेको देखिन्छ।
सर्पदंशबाट बच्ने उपाय :
– घर तथा खेल मैदानवरिपरि सफा राखौँ, झाडी, ढुंगा, हिलो र पातको थुप्रो नराखौँ
– खुट्टा ढाक्ने गरी लामो लुगा र बुट वा जुत्ता लगाऔँ
– राति अँध्यारोमा हिँड्दा टर्च वा बत्ती बालेर मात्र हिँड्ने गरौँ
– ढुंगाको थुप्रो अथवा काठमा सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले त्यस्ता ठाउँमा काम गर्दा सतर्क बनौँ, केटाकेटीलाई सर्प हुन सक्ने इलाकामा जानबाट रोक्ने
-आफ्ना क्षेत्रमा भएका विष नभएको सर्पका बारेमा जानकारी राखौँ, भुइँमा सुत्न छाडौँ
– झुल टाँगेर मात्र सुत्ने गरौँ
– पालभित्र सुत्ने हो भने राम्ररी ढोका बन्द गरेर मात्र सुतौँ
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

