चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि नाम सिफारिस, कहिले होला निर्णय ?

376
Shares

काठमाडौँ, १ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित समितिले गत बुधबार बुझाएको शिलवन्दी खाम शिक्षा तथा खेलकुद मन्त्रालयले अर्को दिन अर्थात बिहीबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘फरवार्ड’ गरेको हो । तर, शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्यस सम्वन्धी निर्णय हुन सकेन ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकमा त्यस सम्बन्धी निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

लोक सेवा आयोगको अध्यक्षको संयोजकत्वमा गठित उपाध्यक्षको नाम सिफारिस गर्न गठित समितिमा मुख्य सचिव र एक जना विज्ञ सदस्य हुने प्रावधान थियो ।

सोही संयोजकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी रहेका थिए, मुख्य सचिव सदस्य भए पनि उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्मा सहभागी थिए । विज्ञको रुपमा प्राडा शरद वन्त खटिएका थिए ।

अल्पसूचीमा परेका १० जना उम्मेदवारको गत २६ जेठमा प्रस्तुतिकरण र २७ जेठमा अन्तर्वार्ता लिएपछि सो समितिले २७ गते शिलबन्दी गरेको नाम सिफारिसको सूची शिक्षा तथा खेलकुद मन्त्रालयलाई बुझाएको थियो ।

मन्त्रालयले २८ जेठमा नै प्रधानमन्त्री कार्यालयमा नाम सूचीको फाइल ‘फरवार्ड’ गरेको बताएको छ ।

‘शिलबन्दी भएर आएको सिफारिस सम्वन्धी पत्र हामीले २८ जेठमै उता पठाएका हौँ । त्यहाँ कति जनाको नाम को कसको नाम छ भन्ने थाहा नै भएन,’ शिक्षा सचिव चुडामणि पौडेलले भने ।

सरकारको सिफारिसमा गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि आयोगको उपाध्यक्ष सहित पुराना नियुक्तीहरु खारेजीमा परेको थियो । त्यसपछि आयोगको दैनिक काम काज गर्न पूर्व उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई सरकारले निमित्त तोके पनि धेरै कामहरु रोकिएको बताइएको छ ।

त्यसो त डा गिरी नै पनि अहिले उपाध्यक्षको प्रत्यासी बनेका छन् ।

‘निमित्तको रुपमा डा गिरीले उपाध्यक्षको पद सम्हाले पनि धेरै कामहरु पछि गर्ने भनेर रोकिएको छ । त्यसैले सकेसम्म छिटो निर्णय हुनु पर्ने हो,’ आयोगका एक कर्मचारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *