नेको सहकारीको नेतृत्वमा फेरी आए राजेन्द्रप्रसाद पाण्डे, मनमोहन सम्वन्धनको मुद्धा पुन: उठ्ने संकेत

280
Shares

काठमाडौँ, १ असार । मनमोहन मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने योजना सहित स्थापित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल) को अध्यक्ष पदमा पुन: राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

राजधानीमा हिजो सम्पन्न संस्थाको २० औं बार्षिक साधारण सभा पछि नयाँ नेतृत्व छान्न भएको निर्वाचनबाट पाण्डेले आफ्ना दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै बिजयी भएका हुन् ।

नेकपाका नेता पाण्डे बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् ।

निर्वाचनबाट उपाध्यक्ष पदमा डा झलक गौतम र हरिप्रसाद उप्रेती विजयी भएका छन् । यस्तै सचिव पदमा टेकबहादुर बम, सह सचिव पदमा र कोषाध्यक्ष पदमा चुनादेवी केसी खड्का बिजयी भएकी छन् ।

सदस्यहरुमा ईश्वरी खनाल, लक्ष्मी राई, शोभा सापकोटा, डा रविन्द्र रेग्मी र बोधकुमार अधिकारी बिजयी भएका छन् ।

निर्वाचनमा यसपटक नेकपा नेता समेत रहेका राजेन्द्र पाण्डे, ई गम्भीर लाल श्रेष्ठ र शिवप्रसाद सिंम्खडाको नेतृत्वमा छुट्टा छुट्टै प्यानल उठेको थियो । निर्वाचनबाट अधिकांश पदाधिकारीहरु पाण्डे र श्रेष्ठको प्यानलबाट उठेकाहरु निर्वाचित भएका छन् ।

यसअघि ३० जेठका दिन नयाँ नेतृत्वको लागि मिति तोकिए पनि सहमति हुन नसकेपछि हिजो विहान ११ बजे देखि दिउसो ३ बजेसम्म निर्वाचन गरिएको थियो ।

नेको नेपाल सहकारीमा कुल २ हजार ३३० जना सदस्य थिए ।

कम्युनिष्ट नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित मनमोहन मेडिकल कलेजले सम्वन्धन नपाएपछि नेको सहकारी संस्था केही वर्ष अघिसम्म झण्डै टाट पल्टिएको अवस्थामा पुगेको थियो ।

अहिले भने विस्तारै सुधारको पाटोमा अघि बढेको बताइएको छ । नेको नयाँ नेतृत्वले मेडिकल कलेज सम्वन्धनका लागि पुन लबिङमा लाग्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेको सहकारीको नेतृत्वमा फेरी आए राजेन्द्रप्रसाद पाण्डे, मनमोहन सम्वन्धनको मुद्धा पुन: उठ्ने संकेत

  1. Good news
    मेडिकल कलेज को काम चॉंडै संचालन गर्नु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *