प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालन गर्ने नेको सहकारीको नेतृत्व गर्न रस्साकसी

काठमाडौँ, ३१ जेठ । चिकित्सा शिक्षा क्षेत्रमा केही वर्ष अघिसम्म ‘हट केक’ बनेको विषय थियो मनमोहन मेडिकल कलेजको ‘सम्वन्धन’ । मनमोहनको सम्वन्धन र रोक्नु पर्छ भन्दै सुरु भएको डा. गोविन्द केसीको आन्दोलनले चिकित्सा शिक्षा आयोग जन्मियो । मनमोहन मेडिकल कलेजको सम्वन्धन भने अहिलेसम्म रोकिएको छ ।
तर यसपटक मनमोहन फेरी चर्चामा आएको छ । सम्वन्धनको विषयले होइन, त्यो कलेज स्थापना गर्ने सहकारीको साधारण सभाले ।
मनमोहन मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने योजना सहित स्थापित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको) को हिजो देखि राजधानीमा जारी २० औँ बार्षिक साधारण सभाबाट यसपटक नयाँ नेतृत्व छान्न निर्वाचन गर्दैछ ।
नयाँ नेतृत्वको लागि हिजो सहमति हुन नसकेपछि अहिले विहान ११ बजे देखि दिउसो ३ बजेसम्म निर्वाचन हुने भएको छ । त्यसमा कुल २ हजार ३३० जनाले भोट हाल्नेछन् ।
नेको सहकारी संस्था लिमिडेटको नेतृत्व यस अघिसम्म निर्विरोध रुपमा छनौट हुँदै आएको थियो ।
तर यसपटक भने तीनवटा प्यानल उठेको छ । यस सहकारीमा सुरुवात देखि लामो समय नेतृत्व गरेका पूर्व मुख्य मन्त्री एवं नेकपाका नेता राजेन्द्र पाण्डेले प्यानल बनाएर यसपटक पुन: अध्यक्षमा दावी गरेका छन् ।
अर्को समूहको नेतृत्व इन्जिनियर गम्भीरलाल श्रेष्ठले गरेका छन् ।
तेस्रो समूहको नेतृत्व शिव सिम्खडाले गरेका छन् ।
हालका अध्यक्ष डा. बंशीधर मिश्र भने सर्वसम्मतीमा अध्यक्षको नेतृत्वमा आउने तर प्यानल बनाएर नउठ्ने भन्दै प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका छन् ।
एक समय झण्डै टाट पल्टिएको यो सहकारी संस्था पछिल्लो समय विस्तारै आफूलाई सुधारको बाटोमा अघि बढाएको छ ।
संस्थाको नाममा अहिले चल अचल सम्पत्ती अर्बमा रहेको बताइएको छ ।
‘चिकित्सा शिक्षा ऐनका कारण यसअघि रोकिएको मेडिकल कलेज सम्वन्धनको मुद्धालाई पुन: व्युक्ताउने गरी अघि बढ्ने योजना तीनवटै प्यानलले अघि सारेका छन् । त्यसैले पनि यसपटक यो सहकारीमा बढी प्रतिस्पर्धा देखिएको हो,’ एक सदस्यले भने ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड विसं २०६२ मा स्थापित एक गैर-नाफामूलक संस्था हो। ‘सबैका लागि अस्पताल’ भन्ने मूल नाराका साथ सञ्चालित यो सहकारीले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र विभिन्न स्वास्थ्य परियोजनाहरू सञ्चालन गरिरहेको छ।
नेकोले मनमोहनको नाममा स्वयंम्भूमा अस्पताल गरेको भए पनि अहिले कुनै संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिएको छ । उता दहचोकमा भने एकेडेमिक कार्यक्रम सञ्चालित छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

