आज विश्व रक्तदाता दिवस:

‘कुनै पनि देशका लागि कुल जनसंख्याको १ देखि २ प्रतिशतले रक्तदान गरे प्रयाप्त’

32
Shares

काठमाडौं, ३१ जेठ । आज जुन १४ अर्थात् विश्व रक्तदाता दिवस। ‘मानवताका लागि एक थोपा : रगत दिऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी २३ औँ विश्व रक्तदाता दिवस मनाइँदै छ।

मानव जीवन बचाउन आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण जैविक तत्वमध्ये रगत एक हो। दुर्घटना, शल्यक्रिया, प्रसूति जटिलता, क्यान्सर, रक्तअल्पता तथा विभिन्न दीर्घरोगका बिरामीहरूको उपचारमा रगत अपरिहार्य मानिन्छ। तर, रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले यसको एकमात्र स्रोत स्वेच्छिक रक्तदान नै हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर हरेक वर्ष १२ करोडभन्दा बढी युनिट रगत संकलन हुने गरेको छ। तर, न्यून आय र निम्न–मध्यम आय भएका धेरै मुलुकहरूमा सुरक्षित र पर्याप्त रगतको उपलब्धता अझै चुनौतीपूर्ण रहेको छ।

विशेषज्ञहरूका अनुसार कुनै पनि देशमा कुल जनसंख्याको कम्तीमा १ देखि २ प्रतिशतले नियमित रक्तदान गरेमा राष्ट्रिय आवश्यकता पूरा गर्न सकिन्छ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले रक्तदान केवल चिकित्सा सेवा नभई मानवता, करुणा र सामाजिक उत्तरदायित्वको प्रत्यक्ष अभिव्यक्ति भएको बताएकी छन्। उनका अनुसार समयमै उपलब्ध भएको रगतले धेरै अवस्थामा जीवन र मृत्युबीचको अन्तर निर्धारण गर्न सक्छ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा रक्त सुरक्षाका क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको छ। हाल यस क्षेत्रमा संकलित कुल रगतको ८० प्रतिशतभन्दा बढी हिस्सा स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट प्राप्त हुने गरेको छ। सदस्य राष्ट्रहरूले राष्ट्रिय रक्त नीति, गुणस्तर मापदण्ड तथा परीक्षण प्रणालीलाई समेत सुदृढ बनाएका छन्।

यद्यपि सुरक्षित रगत तथा प्लाज्माबाट उत्पादन हुने औषधिजन्य सामग्रीहरूको माग अझै बढ्दो क्रममा रहेको डब्लुएचओले जनाएको छ। हेमोफिलिया, प्रतिरक्षा प्रणाली कमजोर भएका बिरामी तथा गम्भीर संक्रमणका उपचारका लागि प्लाज्माजन्य औषधिहरू अत्यावश्यक हुने भए पनि धेरै विकासोन्मुख मुलुकहरूमा यस्ता उत्पादनको पर्याप्त उपलब्धता छैन।

नेपालमा पनि नेपाल रेडक्रस सोसाइटी, विभिन्न अस्पताल, सामाजिक संस्था तथा युवा समूहहरूको सक्रियतामा रक्तदान अभियान सञ्चालन हुँदै आएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार बढ्दो सवारी दुर्घटना, जटिल प्रसूति सेवा, क्यान्सर तथा अन्य रोगहरूको उपचारका लागि रगतको माग निरन्तर बढिरहेको छ। त्यसैले नियमित र स्वेच्छिक रक्तदाता बढाउनु आजको प्रमुख आवश्यकता बनेको छ।

विश्व रक्तदाता दिवसका अवसरमा स्वास्थ्य विज्ञहरूले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार रक्तदानले केवल अरूको जीवन बचाउने मात्र होइन, समाजमा मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना पनि बलियो बनाउँछ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *