सरकारसंग सहकार्य गरेर औषधीको आयातलाई व्यवस्थित गर्ने मियानको निर्णय
अब हरेक वर्ष स्वास्थ्य र औषधीको क्षेत्रमा लेख्ने दुई जना पत्रकारलाई सम्मान गरिने

काठमाडौँ, २९ जेठ । कार्वोप्लाटिन तथा सिस्प्लाटिन जस्ता क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधीको आपूर्तिमा अफ्टेरो परिरहेका बेला नेपाल औषधी आयातकर्ता संघ(मियान)का बिस्तारित बैठक शुक्रबार चितवनको सौराहामा सम्पन्न भएको छ ।
बैठकले औषधी आयातमा देखिएको विद्यमान समस्याका समाधानको उपाय तथा संस्थाको हक हितका विषयमा महत्वपूर्ण निर्णय गरेको बताइएको छ ।
बैठक पछि बोल्दै मियानका अध्यक्ष पवन आचार्यले पछिल्लो परिस्थितिको समीक्षा गर्दै औषधी आयातका क्षेत्रमा देखिएको समस्या सरकारसंग सहकार्य गर्दै समाधान गर्न प्रयासरत रहने निर्णय भएको बताए ।
उनले नेपाली बिरामीले गुणस्तरीय औषधी पाउने नैसर्गिक अधिकारलाई पूर्ण कार्यान्वयनको दिशामा मियानले गर्नु पर्ने दायित्वको विषयमा समेत छलफल भएको बताए ।

बैठकमा मियानको आठौँ साधारण सभा पछि आएको नयाँ कार्यसमितिले पछिल्लो एक वर्षमा गरेका काम, गर्नु पर्ने कामका विषयमा समेत छलफल भएको थियो ।
मियानका महासचिव मधु पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय परि घटनाबाट सिर्जित अवस्थाको मूल्यांकन गर्दै कदम चाल्नका लागि आयातकर्ताहरुको विस्तारित भेला डाकिएको बताए ।
‘हाम्रो नयाँ कमिटि आएपछि के के काम भयो ? अब एक वर्षमा के के गर्नुपर्छ ? भन्ने विषयमा छलफल भयो । पश्चिम एशिया युद्धले औषधी तथा कच्चा पदार्थको उपलव्धता र ढुवानीमा पारेको असरका बारेमा छलफल भयो । पछिल्लो पटक कार्बोप्लाटिन र सिस्प्लाटिन जस्ता क्यान्सर रोगको उपचारमा प्रयोग हुने इन्जेक्सनको आयातमा परेको अफ्टेरो र यसका लागि मियान र यसका सदस्यहरुले गरेको कामको समिक्षा तथा मूल्यांकन गरियो । सरकारसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गरियो,’ महासचिव पौडेलले भने ।
अभावका बेलामा औषधी उपलव्ध गराउने आयातकर्ता तथा फर्मलाई सम्मान
पछिल्लो समय क्यान्सर रोगको उपचारमा प्रयोग हुने कार्वोप्लाटिन तथा सिस्प्लाटिन इन्जेक्सनको विश्वव्यापी रुपमा अभाव देखिएको छ । तर, नेपाली आयातकर्ताहरुले अभावलाई टार्ने प्रयासमा आफूहरु लागि रहेको बताएका छन् ।
यसबीचमा आज सौराहामा बिस्तारित बैठक चलिरहँदा अभाव भएको कार्वोप्लाटिन र सिस्प्लाटिन इन्जेक्सनको आयात गर्ने कम्पनी र तिनका प्रतिनिधिलाई समेत मियानले सम्मान गरेको छ ।
त्यसरी सम्मानित हुनेहरुमा यतिकेम डिस्ट्रिव्युटर्सका पृथ्वीराज बैद्य, डीकेएम फर्मास्युटिकल्सका सुरज टिब्बटेवाल, आयान लाइफकेयरका डा अबुल हुसेन अन्सारी, ताज नेपालका तारिक राना, सिजल फार्माका अञ्जन पुडासैनी लगायतलाई सम्मान गरिएको हो ।
‘उहाँहरुले देशमा क्यान्सरको औषधी अभाव भइरहेका बेला आफ्नो पहलमा औषधी उपलव्ध गराई पुन्य कार्य गर्नु भएको हो । त्यसैले हामीले सम्मान गर्यौँ,’ अध्यक्ष आचार्यले भने ।
हरेक वर्ष दुई जना पत्रकारलाई सम्मान गरिने
यसैबीच मियानको सौराहामा सम्पन्न बैठकले स्वास्थ्यसंगै औषधीको क्षेत्रमा कलम चलाउने दुई जना सञ्चारकर्मीलाई हरेक वर्ष पुरस्कृत गर्ने निर्णय गरेको छ ।
‘स्वास्थ्य आफैमा महत्वपूर्ण विषय हो । त्यसमा औषधी झन् महत्वपूर्ण हुने भयो । हामीले यसैवर्ष देखि दुई जना स्वास्थ्य पत्रकारहरुलाई उहाँहरुले औषधीका क्षेत्रमा गरेको योगदानको आधारमा पुरस्कृत गर्ने निर्णय गरेका छौँ । यसले उहाँहरुलाई पेशागत उत्प्रेरणा जगाउनका लागि सहयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ,’ महासचिव पौडेलले भने ।
मियानले यसवर्षबाट प्रदान गर्ने भनिएको उत्कृष्ठ स्वास्थ्य पत्रकार पुरस्कारको राशी जनही ५१ हजार र सम्मान पत्र रहने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

