नेपाल स्वास्थ्य प्राविधिक संघ : विगत र वर्तमानलाई नियाल्दा

नेपाल स्वास्थ्य प्राविधिक संघ स्वास्थ्य क्षेत्रको पुरानो पेशागत संगठन हो । यसको स्थापना निरङ्कुस पंचायती व्यवस्था रहेका बेला समस्त स्वास्थ्यकर्मीहरुको हक अधिकारका लागि औषधी ऐन २०३५ को दफा २७ ले गरेको व्यवस्था चिकित्सक बाहेक अरु कसैले औषधीको बारेमा लेख्न, सिफारिस गर्न नपाईने व्यवस्थाको बिरुद्ध २०३६ साल असार महिनाको १६ गतेका दिन भएको हो ।
स्थापनाकालमा अखिल नेपाल चिकित्सा सहायक संघको नाम रहेकोमा अखिल शब्द प्रति केही विमती रहे पछि चिकित्सा सहायक संघ (Paramedicalsˈ Association of Nepal) छोटकरीमा PAN भनेर अत्यन्तै लोकप्रिय रहन गयो ।
पछि चिकित्सा सहायक शब्द प्रति विवाद उठे पछि २०५२ को पाँचौं राष्ट्रिय महाधिबेशनमा नेपालीमा नेपाल स्वास्थ्य प्राविधिक संघ र अंग्रेजीमा Health Technician Association of Nepal छोटकरीमा HETAN राख्ने बहस भयो तर नेपाली नाम नेपाल स्वास्थ्य प्राविधिक संघ र अंग्रेजीमा Paramedicalsˈ Association of Nepal नै राख्ने बहुमत बाट पास भयो ।
नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो स्थापनाकाल देखि विभिन्न आरोह अवरोहका बीच समग्र स्वास्थ्यकर्मीहरुलाई गोलबन्द गर्दै आइरहेको थियो, तत्कालीन सरकारले राजनीतिक दलमाथि प्रतिबन्ध त लगाएकै थियो साथसाथै कुनै संघ/संगठन खोल्न समेत प्रतिबन्ध लगाएकोले भूमिगत शैलीमा हाम्रा अग्रजहरुले आफ्नो ज्यान र जागिरको प्रवाह नगरी स्वास्थ्यकर्मीहरुको प्रेस्क्रिप्सन अधिकार र औषधी बितरणको लागि कानुनी अधिकार को माग राखेर संघर्षमा उत्रिएका थिए ।
साथै निरङ्कुस सरकारले हाम्रा अग्रजहरु माथि वारेण्ट काट्ने, पक्राउ गर्ने, थुन्ने, कतिलाई धरपकड गर्ने, जागिरबाट निकाला गर्ने, छात्रवृत्तिमा अध्ययनमा जानेहरूको छात्राबृत्ति खोस्ने, झुट्टा मुद्दा लगाउने जबरजस्ती माफी मगाउन कागज गराउने जस्ता अनगिन्ती दुख दिने कार्यले यस संघको नेतृत्वलाई छिन्न भिन्न पार्ने कोशिस गरियो । एक दुई बर्षमै तहसनहस बनाईयो । तर फेरि बिस्तारै संगठित हुदै पुन: जुर्मुराएर यस संघले वि.सं.२०४१ सालमा पहिलो राष्ट्रिय अधिवेशन गर्न सफल भयो ।
त्यसै गरि वि.सं.२०४३ मा दोश्रो र वि.सं.२०४५ सालमा तेस्रो अधिवेशन गरेको यस संघले २०४६ को जनआन्दोलन मा दलहरुकै हाराहारीमा व्यवस्था परिवर्तनको आन्दोलनमा आफ्नो सहभागिता जनायो।
आन्दोलनमा होमिएका थुप्रै अग्रजहरुलाई प्रशासनले देशद्रोहीको मुद्दा लगाउने काम गर्याे यद्यपि देशमा प्रजातान्त्रिक सरकार बिना वाक–स्वतन्त्रता र संघ/संगठन खोल्न र पेशागत हक अधिकार प्राप्ति पनि नहुने बुझेको नेतृत्व अविछिन्न आन्दोलनमा लागिनै रह्यो । फलस्वरूप २०४६ चैत्र २६ गते निरङ्कुस पञ्चायती सरकार आन्दोलनको सामु घुँडा टेक्यो यसरी यस संघको पनि ब्यबस्था परिवर्तन मा अहम् भूमिका रह्यो ।
प्रजातन्त्र पुनःस्थापना पछि बनेको अन्तरिम सरकार संग यस संघले आफ्नो अधिकारको माग सहित मेडिकल काउन्सिलमा दर्ता हुन पाउनु पर्दछ भन्ने माग राख्यो तर तत्कालीन स्वास्थ्य मन्त्रीले मेडिकल काउन्सिलमा दर्ता गराउँदा चिकित्सकहरुवाट अस्वीकार हुन सक्ने आंकलन गरि छुट्टै अर्को काउन्सिल खोल्न उपयुक्त हुने भनेर प्रस्ताव राख्नु भयो ।
तत्पश्चात निर्वाचित सरकारबाट माग पूरा गरि दिने वचन दिईयो, अन्तरिम सरकारको मुख्य जिम्मेवारी संविधान जारी गर्नु र निर्वाचन गराउनु भएको बताए पछि हामी पनि आस्वस्थ भईयो ।
निर्वाचन पश्चात् पुनः हामी हाम्रा माग लिएर सरकार सामु मागपत्र सहित गयौं तर निर्वाचित सरकारले पनि हाम्रा माग पुरा गर्ने भन्दा पनि फुटाउ र शासन गरको रणनीति अपनायो । त्यसै समयमा केही स्वास्थ्यकर्मी साथीहरुबाट राजनितिक आस्थाको आधारमा अर्को संस्था खोल्ने काम गर्नु भयो ।
यसैगरी २०५१ को मंसिर महिनामा मध्यावधि चुनाव भयो र चुनाव पश्चात वनेको अल्पमत को सरकारका तत्कालीन स्वास्थ्य मन्त्रीसंगको छलफल पछि नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन र नेपाल नर्सिङ परिषद् ऐन वनाउने सहमति भयो । साथसाथै काम पनि अगाडि बढ्यो ।
फलस्वरूप ऐनको मस्यौदा तयार हुने क्रममा नर्सिङ समूहमा विवाद नरहेकोले २०५२ मा नै नेपाल नर्सिङ काउन्सिल ऐन आयो भने नेपाल स्वास्थ्य ब्यबसायी परिषद् ऐन बनाउने कुरामा धेरै सेवा समूह वीच केही असमझदारी को कारण १ वर्ष पछि २०५३ साल फागुन ३ गते नेपाल स्वास्थ्य ब्यबसायी परिषद् ऐन ल्याउन सफलता प्राप्त भयो ।
जसको नेतृत्व नेपाल स्वास्थ्य प्राविधिक संघ (Paramedicalsˈ Association of Nepal) PAN को र विषयगत संस्थाहरु नेपाल फार्मास्यूटिकल्स एशोसियसन तथा नेपाल रेडियोलजिकल्स सोसाईटी समेतको सहकार्यमा ल्याउन सफल भईयो । उक्त ऐनमा भएको व्यवस्था बमोजिम नेपाल स्वास्थ्य व्यवसायी परिषदको को गठन भएको थियो ।
यस संघका तत्कालीन अध्यक्ष श्रद्धेय श्याम भाइ गौतमलाई सरकारले प्रथम रजिष्ट्रार नियुक्त गरेको थियोे, त्यसैगरी वि.सं.२०५६ मा नेपाल स्वास्थ्य ब्यवसायी परिषद् नियमावली ल्याई चिकित्सक र नर्स बाहेकका सबै बिधाका स्वास्थ्यकर्मीहरु परिषदमा दर्तावाल स्वास्थ्य ब्यवसायी भई यसले तयार गरेको कोड अफ ईथिक्स र यस अन्तरगत रहेको स्कोप अफ प्राक्टिस अनुसार निर्वाध रुपमा व्यवसायिक काम गरि रहेका छौ ।
यहि परिषद् बाट प्राप्त काउन्सिल दर्ता प्रमाणपत्र को आधारमा लोकसेवा आयोगको परीक्षा, स्तरवृद्धि, तह वृद्धि तथा वढुवाको लागि समेत काउन्सिल दर्ता प्रमाणपत्र अनिवार्य रहेको छ ।
तर यो संघको ईतिहास, त्याग, संघर्ष, स्वास्थ्यकर्मीहरुलाई जानकारी नहुनु, गराउन नसक्नु हाम्रो पनि कमजोरी रहेको होला तर यति बेला केही ब्यक्ति र स्वार्थ समूहले यस संघ र यसको नेतृत्वको वदनाम गराउन लगातार रुपमा लागिरहेका छन् ।
खासगरी मन्त्रालयमा संघ र नेतृत्व का वारेमा झुठ्ठा कुरा लगाउने, राजनीतिक लाञ्छना लगाउने घृणित कार्य भई रहेकोे छ । आफ्नो नीहित स्वार्थपूर्तिका लागि यस संघले प्राप्त गरेको कानुनी हक छिन्नका लागि अत्यन्तै तल्लो स्तरमा प्रस्तुत हुने काम भएको छ ।
म फेरि अलिकति अगाडि ईतिहास तिर फर्कन चाहान्छु, २०४६ को संयुक्त जनआन्दोलन पश्चात् दलहरू मिलेर जानुको सट्टा एकले अर्को पार्टी हरुलाई शत्रुतापूर्ण व्यवहार गर्ने अर्को दललाई बिभिन्न आरोप प्रत्यारोप गर्ने गरेकोले यसको असर संघ संगठनमा पर्न गयो फलस्वरूप पेशागत संघ/संगठनहरु पनि पार्टीहरुको प्रभावमा परि एक आपसमा शत्रुतापूर्ण व्यवहार गर्न लागे ।
२०४७ मा संघको चौथो राष्ट्रिय महाधिवेशन पोखरामा हुँदा निकै नै गर्मा/गर्मीका वीच सहमति गरि नेतृत्व चयन भयो तर आन्तरिक मनमुटाव रहि नै रह्यो ।
२०५२ जेष्ठ महिनामा यस संघको पाँचौ राष्ट्रिय महाधिवेशन पोखरामै हुन गयो र सो महाअधिबेशनमा सहमति हुन सकेन र दुई प्यानल वीच चुनाव भयो । जसको कारण प्रगतिशील पक्षको एकल प्यानल विजयी भयो तर निर्वाचनमा विजय हुन नसकेको पक्षले नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) लाई छोड्ने घोषणा गर्याे तर प्रगतिशील पक्षले भने यस संघलाई नछाड्न आग्रह गर्दा पनि अर्को पक्षले नमानेपछि एकल नेतृत्व स्थापित हुदै आयो ।
यहाँ बुझ्नु पर्ने कुरा के छ भने नेपाल मेडिकल एशोसियसनमा २०४६ को परिवर्तन पश्चात् अहिले सम्म एकल नेतृत्व रहदै आएको छ र प्रगतिशील पक्षले निर्वाचनमा भाग लिने र निर्वाचनमा हार भए पनि परिणाम स्वीकार गरी सहकार्य गर्दै आएको छ ।
२०६२/६३ को दोश्रो जनआन्दोलन पश्चात् सरकारमा सहभागी दलले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने बित्तिकै आफ्नो भातृ संगठनहरु खोल्ने त्यसको लागि Paramedicalsˈ Association of Nepal लाई कमजोर पार्ने खेलमा लाग्ने र पेशागत संघ/ संगठनलाई पार्टीको भातृ संगठन बनाई पेशागत आन्दोलनलाई कमजोर बनाउने खेल भयो ।
त्यसपछि परिषद्मा दर्ता हुने प्रायःजसो सबै बिधाहरुले आ–आफ्नो विषयगत संघ/संगठनहरु खोल्ने अनि एक अर्काको अस्तित्व नस्वीकार्ने मनोबृत्ती देखा पर्न थाल्यो ।
वर्तमान समयमा नेपालमा पेशागत संगठनको रुपमा नेपाल चिकित्सक संघ , नर्सिङ एशोसियशन र नेपाल स्वास्थ्य प्राविधिक संघ मात्रै हुन् ।
अन्य केही विषयगत संस्थाहरु र त्यसको नेतृत्वबाट निहित स्वार्थ पूर्तिका लागि एकोहारो कुरा लगाउने काम भएको छ यो अत्यन्त खेदजनक कुरा हो ।
हामी र हाम्रो संघ हिजो पनि एक्लै पेशागत आन्दोलनको अग्र मोर्चामा रहेर काम गर्याे आज पनि गर्छ र भोली पनि गर्ने छ ।
यो संघ कुनै दलको जनसंगठन होईन, हुदैन र हुने छैन भन्ने कुरामा समस्त स्वास्थ्यकर्मीहरुलाई यसै लेखमार्फत आश्वस्त पार्न चाहान्छु तर केही ब्यक्तिहरु अनेक प्रपञ्च गरी यस संघ र यसको नेतृत्वलाई कमजोर पार्ने यसको लागि कानूनमा रहेको विशेष व्यवस्था हटाउन सरकारलाई गलत राय सल्लाह दिने र आफूहरु कानुनको छिद्रको सहारा लिई जसरी पनि परिषदमा जानै पर्ने अन्यथा ‘परिषद खतम भयो, वर्वाद भयो, हामी गए पछि सबै ठिकठाक हुन्छ’ भन्ने भाष्य निर्माण गरिएको छ । यसको लागि समस्त सरोकारवाला संघ संस्था र स्वास्थ्यकर्मीहरु वीच म अपिल गर्न चाहान्छु ।
यतिबेला पेशागत आन्दोलन ईतिहासकै कमजोर अवस्थामा छ तसर्थ यो स्वतन्त्र पेशागत संगठन भएको र नेपाल स्वास्थ्य ब्यवसायी परिषदमा दर्ता हुने बिधाका सबै संघ संगठनहरुको मातृ संस्था भएकोले आम स्वास्थ्यकर्मीहरुलाई पुनः अपिल गर्दछु आउनुहोस् हामी फेरि एकपटक जुटौं र हाम्रो पेशालाई मर्यादित र अधिकार सम्पन्न वनाउन हातेमालो गरौं यसको लागि यस संघको ११ औ राष्ट्रिय महाधिवेशन २०८३ आश्विन ९ र १० मा हुन गई रहेको छ । त्यसमा संस्थागत र ब्यक्तिगत उपस्थितिको लागि संघको विधान बमोजिम सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको लागि सवै तहको कमिटीहरु मार्फत खुला गरिएकोले सम्पूर्ण सरोकारवाला स्वास्थ्यकर्मीहरुलाई हार्दिक अपिल गर्दछु ।
धन्यबाद !!!
#श्रेष्ठ नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष हुन् ।
सम्पर्क इमेल : [email protected]







