दैनिक ५ मिनेट व्यायामले पनि दीर्घायुमा सघाउँछ

  • मेलिसा होगमबूम, बीबीसी ।

दैनिक जीवनमा थोरै भए पनि शारीरिक गतिविधि बढाउँदा त्यसले हाम्रो स्वास्थ्यमा दीर्घकालीन फाइदा पुग्न सक्छ।

कहिलेकाहीँ बिहान हिँड्न निस्कन मलाई निकै सङ्घर्ष गर्नुपर्छ। तर म जसरी पनि निस्कने प्रयास गर्छु किनभने मलाई थाहा छ त्यो काम मेरा लागि निकै फाइदाजनक छ।

हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा मैले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।

हामीले त्यो फाइदाका लागि सघन व्यायामहरू नै गरिराख्नुपर्छ भन्ने जरुरी नभएको स्पष्ट छ।

नयाँ अनुसन्धानले हाम्रो क्रियाकलाप थोरै बढाउँदा पनि हाम्रो स्वास्थ्य र दीर्घायुमा बलियो प्रभाव पर्ने देखाएको छ। दैनिक जम्मा पाँच मिनेटको हलुका व्यायामहरू, जस्तै – बिस्तारै हिँड्दा, साइकल चलाउँदा वा भर्‍याङ चढ्दा अल्पायुमा हुने १० मध्ये एउटा मृत्यु रोक्न सकिन्छ र यसले दशौँ लाख मानिसहरूको आयु बढाउन सक्छ।

तर यसको अर्थ जम्मा पाँच मिनेटको व्यायामले तपाईँलाई स्वस्थ राख्छ भन्ने चाहिँ होइन। केही नगर्नुभन्दा त्यतिसम्म भए पनि गर्दा राम्रो हुन्छ र हाम्रो शारीरिक गतिविधि थोरै बढाउँदा पनि हाम्रो समग्र स्वास्थ्य सुधार हुन्छ भन्न खोजिएको हो। सक्रिय र तन्दुरुस्त मानिसहरूलाई पाँच मिनेट अतिरिक्त व्यायाम गर्दा थोरै मात्र फाइदा पुछ। तर त्यति पनि नगरिरहेका मानिसहरूलाई चाहिँ यसले धेरै फाइदा पुर्‍याउन सक्छ।

“शारीरिक क्रियाकलाप उच्च तनाव र थकान महसुस हुने दर कम गर्न निकै फाइदाजनक हुन्छ,” अमेरिकाको रोड आइल्यान्ड विश्वविद्यालयका शारीरिक चालसम्बन्धी उपप्राध्यापक निकोल लोगन भन्छन्। “हामीलाई थाहा भएको कुरा शारीरिक क्रियाकलाप, मांसपेशीको सबलता र गुणस्तर, हड्डीको बलियोपनाजस्ता कुरा दीर्घ र स्वस्थ जीवनका सङ्केत हुन्।”

दीर्घजीवन बढाऔँ

नयाँ अनुसन्धानमा यूके, अमेरिका र स्क्यान्डिनेभिआका एक लाख ५० हजार वयस्क संलग्न थिए।

“दैनिक पाँच मिनेटको शारीरिक क्रियाकलाप गर्ने सानो परिवर्तनले अल्पायुमा हुने मृत्युमा ठूलो प्रभाव पार्‍यो,” नर्वेजिअन स्कूल अफ स्पोर्टका प्राध्यापक अल्फ एकलून्ड भन्छन् । यो अनुसन्धानले व्यक्तिगत तहमा भन्दा पनि ठूलो जनसङ्ख्यामा पाँच मिनेटको व्यायामले स्वास्थ्य फाइदा पुर्‍याउने देखाएको उनी बताउँछन्।

वयस्क मानिसहरूले सकेसम्म विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको सातामा १५० मिनेट नै व्यायाम गर्नुपर्ने एकलून्ड बताउँछन्। तर जिम जान वा खेलकुदमा भाग लिन सक्ने मानिसहरूले पनि दैनिक पाँच मिनेटको व्यायामबाट फाइदा लिन सक्ने अध्ययनले देखाएको छ।

निष्क्रियता कम गर्नु पनि फाइदाजनक रहेको पत्ता लागेको छ।

चुप लागेर बस्ने समय दिनमा ३० मिनेटले कम गर्दा औसत मानिसहरूमा अल्पायुमा हुने मृत्यु ७ प्रतिशतले कम हुने देखिएको छ। शारीरिक निष्क्रियता दीर्घरोग र अल्पायुमा हुने मृत्युसँग जोडिएको हुन्छ।

एकलून्ड निरन्तरता महत्त्वपूर्ण हुने बताउँछन्। “बिस्तारै सुरु गर्नुहोस् र बढाउँदै लैजानुहोस्,” उनी भन्छन्।

एकैछिन व्यायाम
अन्य कैयौँ मानिसहरूमा गरिएको यो अध्ययनले व्यायामले लामो समयसम्म दिने स्वास्थ्यलाभका कारण हामीले आफ्नो जीवनशैली परिवर्तन गरिरहन आवश्यक नै नपर्ने देखाएको छ। हाम्रो दैनिक जीवनमा केही क्रियाकलाप बढाउँदा त्यसले पार्ने प्रभाव ठूलो छ।

मांसपेशी तन्काउने (स्ट्रेचिङ) जस्ता क्रियाकलाप पनि फाइदाजनक देखिएका छन्। अमेरिकामा गरिएको अध्ययनले ६० र ७०को दशकको उमेरका व्यक्तिहरूमा एरोबिक व्यायामसँगै मांसपेशी तन्काउनेलगायतका गतिविधि नियमित गर्दा व्यायाम नै नगर्ने मानिसहरूको तुलनामा मृत्युको जोखिम कम हुने देखिएको थियो।

अन्य पछिल्ला अध्ययनहरूमा निश्चित समयको अन्तरालमा एकैछिन व्यायाम अर्थात् “एक्सरसाइज स्न्याकिङ” गर्दा मुटुको स्वास्थ्य सुधार हुने देखाएको छ।

विभिन्न अध्ययनहरूको व्यापक स्तरमा गरिएको विश्लेषणले वयस्कहरूमा पनि यो गतिविधिले फाइदा पुर्‍याएको देखियो। यस्तो व्यायामका लागि गरिएको सिफारिस अपनाउने मानिसहरू पनि धेरै देखिए। ‘स्न्याकिङ’को व्यायाम हाम्रो “दैनिक जीवनमा समावेश गर्न” सहज भएका कारण अध्ययनका सहभागीमध्ये ८२ प्रतिशतले यसलाई निरन्तरता दिएको अध्ययन प्रतिवेदनका लेखकहरूले उल्लेख गरेका छन्।

दिनको कुनै एउटा समय जिम जानेभन्दा “स्न्याक”को गतिविधि सामान्य दैनिकीजसरी दिनको जुनसुकै समयमा पनि गर्न सकिन्छ। यसका लागि भान्सामा कुनै गीत बजाएर नाच्नेदेखि भर्‍याङमा साधारण तरिकाले भन्दा छिटोछिटो हिँड्नेजस्ता हाम्रो मुटुको धड्कन बढाउने जुनसुकै व्यायाम गरे पनि हुन्छ।

यूकेको अल्स्टर विश्वविद्यालयकी व्यायाम र स्वास्थ्यसम्बन्धी प्राध्यापक मरी मर्फीले बीबीसीको ‘जस्ट वन थिङ’ पड्कास्टमा बताएअनुसार सानासाना व्यायामहरूले ‘मेटबोलिजम’ अर्थात् शारीरमा ऊर्जा उत्पादन हुने रासायनिक प्रक्रियाहरूलाई राम्रोसँग सक्रिय गराउँछ। “जब हामी व्यायाम गर्न छोड्छौँ, त्यसपछि पनि हाम्रो मेटबोलिजम केही छिटोछिटो चलिरहेको हुन्छ।”

बानीको फाइदा

अनुसन्धानले ‘एक्सरसाइज स्न्याकिङ’को स्वास्थ्यमा हुने फाइदाबारे सचेत गराउँदा मानिसहरूले सकारात्मक प्रतिक्रिया जनाएको देखाएको छ।

सानो जाँगरले ठूलो फरक पार्छ। मानिसहरूलाई एस्कलेटर वा लिफ्टको सट्टा भर्‍याङ चढ्न प्रेरित गर्ने सङ्केतहरू राखियो भने धेरै मानिसहरू भर्‍याङ चढ्न सुरु गर्छन्।

यूकेको लफ्बार विश्वविद्यालयमा आनीबानी चिकित्सा अध्यापन गर्ने प्राध्यापक अमान्दा डेली सानो परिवर्तनले लामो समयमा अर्थपूर्ण बदलाव ल्याउने बताउँछिन्।

“हामीले कतिपय कुराहरू थाहै नपाई गरिरहेका हुन्छौँ। त्यो भनेको हामीले त्यसलाई मन पराएका छौँ,” उनी भन्छिन्। “तपाईँ भर्‍याङ नै चढ्नुहुन्छ किनभने तपाईँले त्यो थाहा पाइसक्नुभएको छ। त्यो नै तपाईँको बानी हो।”

डेली निष्क्रिय बानी कम गर्न सकिने अर्को उपायका रूपमा तपाईँ पुग्नुपर्ने गन्तव्यभन्दा पाँच मिनेट टाढै आफ्नो कार रोक्न सुझाउँछिन्।

उनका अनुसार यसले एकैछिन भए पनि व्यायाम गर्न सहयोग पुर्‍याउँछ।

सहकर्मीहरूसँग मिलेर गरेको सानो अध्ययनमा उनीहरूले सहभागीहरूले यस्तो उपाय बारम्बार दोहोर्‍याएको पाएका थिए। जसले लामो व्यायामहरू अभ्यास गर्न सहज बनाएको पाइयो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *