बैठक बस्न कोरम नपुग्ने भएपछि फार्मेसी परिषद्को ३१ औँ लाइसेन्स परीक्षा स्थगित

काठमाडौँ, २१ जेठ । नेपाल फार्मेसी परिषद् यहि जेठ महिनामा सञ्चालन गर्ने भनेको ३१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । १० सदस्यीय बोर्डमा बोर्डमा अध्यक्ष, सदस्य सहित ७ जना नभएको अवस्थामा परीक्षा लिन नमिल्ने भन्दै परीक्षाको कार्यक्रम स्थगित भएको सूचना निमित्त रजिष्ट्रार उषा तण्डुकारले दिएकी छन् ।
गत १९ बैशाखमा सरकारले अध्यादेश मार्फत अध्यक्ष तथा सदस्यहरुलाई एकै पटक पदमुक्त गरेको थियो । त्यसबेला रजिष्ट्रारको पद जोगिए पनि पछि उनले पनि राजिनामा दिएका थिए । अहिले मन्त्रालयले दैनिक काम काज गर्न भन्दै तण्डुकारलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएर पठाएको छ ।
सूचनामा परीक्षा र नतिजा प्रकाशन सम्वन्धी कार्य परिषद्को बैठक बाट पारित गरेर मात्रै हुने हुँदा हालको अवस्थामा परिषद्को कुल संख्या १० मध्ये ३ जना मात्र रहेकोेले सम्भव नभएको बताइएको छ ।
त्यसो त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बुधबार (२० जेठमा) मात्रै परिषद्को अध्यक्ष, सदस्य र रजिष्ट्रारको पदपूर्तीका लागि सूचना आव्हान गर्दै आवेदन माग गरेको थियो । सूचनामा योग्यता पुगेका व्यक्तिले १० दिन भित्र आवेदन दिन सक्ने बताइएको थियो ।
तण्डुकारले नयाँ पदाधिकारी आएपछि मात्रै परीक्षा हुने भन्दै त्यसको मिति पनि पछि तोकिने बताएकी छन् ।
परिषद्ले परीक्षाका लागि १४ चैतमा एक महिनाको अवधी दिएर आवेदन खुलाएको थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

