‘कार्बोप्लाटिन र सिसप्लाटिन अभाव फेरी हुन लाग्यो’

काठमाडौँ, १८ जेठ । नेपाल औषधी आयातकर्ता संघ (मियान)ले क्यान्सरको बिरामी उपचार गर्न अत्यावश्यक दुई औषधीहरु कार्बोप्लाटिन र सिसप्लाटिन पुन: अभाव हुने चरणमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

केही आयातकर्ताले अघिल्लो साता बंगलादेशबाट केही हजार भाइल औषधी ल्याएपछि त्यसबेला समस्या टरेको थियो । आयातकर्ताहरुले पनि कम्तिमा तीन साताका लागि अभाव नहुने बताएका थिए । ‘तर, अहिले यसअघि एक महिनाका लागि पुग्ने औषधी ७-८ दिनमै सकिएको अवस्था छ । अव हामीसंग मौज्दात दूई तीन दिनलाई होला,’ संघका अध्यक्ष पवन आचार्यले भने ।

त्यसो त अघिल्लो साता नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, औषधी व्यवस्था विभाग र आयातकर्ता संघबीच औषधीको सहजीकरण गर्ने र औषधीको मूल्य लगायतका नीतिगत अफ्टेराहरु सुल्झाउदै जाने सहमति भएको थियो । सोही अनुसार औषधीको उपलव्धता भएको तर सरकार पक्षबाट मूल्य लगायतका विषयमा थप प्रक्रिया अघि नबढेको अध्यक्ष आचार्यले बताए ।

औषधी व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले पछिल्लो अवस्था र गर्नु पर्ने कामका सन्दर्भमा मन्त्रालयलाई जानकारी गराईसकेको बताईन् । उनले मन्त्रालयबाट पनि छिटै यस विषयमा बैठकको आयोजना आवश्यक उपाय खोजिने जानकारी पाएको बताइन ।

स्वास्थ्य मन्त्री निशा मेहताका स्वास्थ्य विज्ञ सल्लाहकार डा मनोहर प्रधानले आफू केही दिन देखि उपत्यका बाहिर रहेकोले यस विषयमा भएको थप प्रगतिबारे जानकारी नभएको बताए । ‘औषधी अभाव हुनु भएन । यसका लागि के के काम गर्नु पर्ने हो । सरकारको तर्फबाट काम हुन्छ नै,’ उनले भने ।

अघिल्लो साता यी दुई औषधी आयान लाइफ केयर कुपण्डोलले ८०० भाइल ल्याउँदा तत्कालको अभाव टरेको थियो ।

पश्चिम एशिया युद्धको निस्कर्ष नहुँदा, हर्मुज नाका राम्ररी खुल्न नपाउँदा, औषधी बनाउन प्रयोग हुने पेट्रोकेमिकल देखि प्रेट्रोलिय पदार्थको अभाव सिर्जना भएको थियो । त्यसले औषधी उत्पादनमा ह्रास ल्याउँदा विश्व बजारमा चर्को मूल्यबृद्धि हुन थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *