१०१ अर्व ९५ करोड रुपैयाँको स्वास्थ्य बजेटमा के के कार्यक्रम पर्यो ?

काठमाडौँ, १५ असोज । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका नाममा १०१ अर्व ९५ करोड बजेट विनियोजन गरेको छ ।
यो कुल बजेटको ४.८ प्रतिशत हिस्सा हो । विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले कम्तिमा कुल बजेटको १० प्रतिशत छुट्याउनु पर्ने बताउँदै आएको थियो । तर वर्तमान सरकारले आगामी पाँच वर्ष भित्र सो लक्ष्य पुरा गर्ने यसअघि नै नीति तथा कार्यक्रममार्फत उल्लेख गरेको थियो ।
यसपटक बजेट सिलिङ स्वास्थ्यमा कम आए पनि बजेटमा धेरै देखिएको छ । संकटग्रस्त अवस्थामा पुगेको स्वास्थ्य बीमा कार्यक्रमलाई उद्दार गर्ने गरी कुल बजेट १५ अर्व विनियोजन गरिएको छ ।
हेर्नुहोस स्वास्थ्यका अरु के के कार्यक्रम परे बजेटमा ?
अर्थ मन्त्रीको बजेट भाषणमा प्रस्तुत विषय………………………..
- यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ । दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरुलाई स्वास्थ्य सेवाको प्रथम विन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौ । सरकारले निःशुल्क उपलब्ध गराउनेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौं ।
- सार्वजनिक-सार्वजनिक साझेदारी मोडेल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौँ।
- स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्नेछौ । छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौं। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौ।
- राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं ।
- आगामी पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट चौबीसै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र शत प्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौं । खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना, तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौ।
- काठमाडौं उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौ ।
- सुदुरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबिबिएस लगायत चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौं ।



सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
