एनडीआरआईले मनायो २३ औं बार्षिकोत्सव, सीप विकास र उच्च शिक्षा सुधारका विषयमा छलफल

काठमाडौँ, ६ जेठ । कृत्रिम बौद्धिकता (एआई), डिजिटल रूपान्तरण, उच्च शिक्षा सुधार तथा मानव पूँजी विकासका विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विज्ञहरुबीच गहन छलफल गरी नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले २३ औं बार्षिकोत्सव मनाएको छ ।
मंगलबार ललितपुरमा आयोजित बार्षिकोत्सव समारोहको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले गरेका थिए । सो अवसरमा उनले डिजिटल युगमा समावेशी आर्थिक रूपान्तरणका लागि मानव पूँजी, नवप्रवर्तन र अनुसन्धानमा लगानी आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा एआईटीका उपाध्यक्ष प्राडा बिन्दुनाथ लोहानीले नेपालको उच्च शिक्षा प्रणालीलाई सीपमूलक, अनुसन्धानमुखी र भविष्यउन्मुख बनाउन सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्राडा के. के. अग्रवालले डिजिटल युगअनुकूल शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै परीक्षा केन्द्रित शिक्षाभन्दा सीप, सिर्जनशीलता र व्यवहारिक क्षमतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
दुईवटा प्यानल छलफलमा उच्च शिक्षा सुधार, एआई युगमा रोजगारी, डिजिटल सीप विकास तथा सुशासनका विषयमा विज्ञहरूले धारणा राखेका थिए।

एनडीआरआईका अध्यक्ष डा जयकुमार गुरुङले आजको डिजिटल युगामा नेपालको विकासका लागि शिक्षा प्रणालीमा सुधार, ज्ञान आदानप्रदान र क्षेत्रीय सहकार्य अत्यन्त आवश्यक रहेको बताए । उनले एनडीआरआईले विगत देखि नै प्रवचन श्रृंखला चलाएको भन्दै यसले राष्ट्रिय विकासका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने कुरा पनि उल्लेख गरे ।
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, लगायत विश्वविद्यालयका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता तथा पत्रकारसहित करिब १३० जनाको सहभागिता रहेको थियो।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

