३६ जना गैरआवासीय चिकित्सकको नाम दर्ता कितावबाट हटाउने काउन्सिलको निर्णय उल्टियो

काठमाडौँ, ४ बैशाख । नेपाल मेडिकल काउन्सिलले यसअघि नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय चिकित्सकको नाम दर्ता कितावबाट हटाउने निर्णय उल्टाएको छ ।
काउन्सिलको गत २९ बैशाखमा बसेको पूर्ण बैठकले विदेशी राहदान लिएका ३६ जना गैरआवासीय चिकित्सकको हकमा दर्ता किताबबाट हटाउने विषयमा पहिला भएको निर्णयलाई खारेज गर्दै दर्ता कितावमा नाम यथावत गर्ने निर्णय गरेको हो ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले २९ बैशाखमा बसेको काउन्सिलको पूर्ण बैठकले पहिला भएको निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको भन्दै बरु उनीहरुलाई गैरआवासीय नेपाली चिकित्सकको सूचीमा दर्ताुका लागि आह्वान गर्ने निर्णय भएको जानकारी दिए।
‘पहिला खारेज गर्ने भन्ने विषयमा सूचना आएको थियो। उक्त विषय स्थगन गर्ने निर्णय भएको हो,’उनले भने, ‘विदेशमा रहेका गैरआवासीय नेपाली चिकित्सकलाई गैरआवासीय लाइसेन्स लिनका लागि आह्वान गरिने छ।’ उनले दर्ता गैरआवासीय चिकित्सकको रुपमा नाम दर्ता भएपछि उनीहरुको नाम नेपाली चिकित्सकको दर्ता कितावबाट स्वतः हटने बताए ।
यसअघि काउन्सिलले दुई पटक सार्वजनिक सूचना निकाल्दै ३६ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गरेको जानकारी दिएको थियो। काउन्सिलको सो निर्णयको विदेशमा रहेका चिकित्सकहरुले विरोध गरेका थिए ।
काउन्सिलको १२ भदौ २०८२ मा बसेको पूर्ण बैठकले नेपाली नागरिकता त्याग गरि विदेशी राहदानी लिएका चिकित्सकहरुको नाम काउन्सिलको दर्ता कितावबाट दर्ता खारेज गर्ने निर्णय गरेको थियो ।
त्यसबेला भएको निर्णय नं ६ मा भनिएको छ, ‘मिति २०८१ असोज १६ मा बसेको पूर्ण बैठकले नेपाली नागरिकता त्याग गरि विदेशी राहदानी लिएका चिकित्सकहरुको सम्वन्धमा विदेशी राहदानी लिएको मिति भन्दा अघिल्लो दिनको मिति राखी गुड स्टाण्डिङ प्रमाणपत्र जारी गरिदिने भनि निर्णय भएकोमा त्यस्ता चिकित्सकलाई एक पटकका लागि स्टयाण्डिङ प्रमाणपत्र जारी गरी त्यस्ता नेपाली चिकित्सकहरुको काउन्सिलको दर्ता कितावबाट दर्ता खारेज गर्ने निर्णय भयो ।’

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

