सुरु भयो ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो-२०२६’ (फोटो फिचर)

काठमाडौँ, १७ बैशाख । मेडिकल उपकरण तथा प्रविधिजन्य स्वास्थ्य सामग्रीहरुको बृहत प्रदर्शनी ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो-२०२६’ आज देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।
एचडी प्रोमो मिडियाले केमीकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)संगको सहकार्यमा आयोजना गरेको तीन दिने प्रदर्शनीको यो नवौँ संस्करण हो ।
प्रदर्शनी उद्घाटनका लागि विहीबार विहान भृकुटीमण्डपमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पुगेका थिए ।
सो अवसरमा बोल्दै उनले यस्ता प्रदर्शनीहरूले निजी क्षेत्रलाई चलायमान बनाउँदै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै यस्ता समस्याहरू समाधान गर्न महासंघ तयार रहेको उल्लेख गरे।
उद्घाटन सत्रमा बोल्दै केमसानका अध्यक्ष भक्त हमालले सबै प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण एकै स्थानमा अवलोकन गर्न पाइने भएकाले यो प्रदर्शनी स्वास्थ्य क्षेत्रका सरोकारवालाका लागि अत्यन्त उपयोगी हुने बताए। ‘कसैले अस्पताल खोल्न खोजेको छ,कसैले सेवा थप गर्न चाहेको छ भने आवश्यक उपकरण, प्रविधिहरु के कस्ता आवश्यक पर्दा रहेछन् कति लगानी गर्नु पर्ने रहेछ ? आदि सबै कुरा यहाँबाट जानकारी लिन सकिन्छ,’ उनले अगाडी थपे, ‘एक्स्पोमा अक्सिजन प्रणालीदेखि सीटी स्क्यान, एमआरआईजस्ता उन्नत उपकरणसम्मको तुलना र जानकारी लिन सकिनेछ, जसले नयाँ प्रविधि भित्र्याउन र निर्णय प्रक्रियालाई सहज बनाउनेछ।’
उनले स्वास्थ्य क्षेत्रमा देखिएका केही चुनौतीहरू पनि औंल्याए। समयमै भुक्तानी नहुनु, स्वास्थ्य सामग्रीमा भ्याट लगाइनु, एमआरपी निर्धारणजस्ता विषयले व्यवसायीहरूलाई समस्या परेको उनको भनाइ थियो। साथै, उपकरणको गुणस्तर सुनिश्चित गर्न राज्यले प्रभावकारी एक्रिडिटेशन प्रणाली स्थापना गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
उद्घाटन सत्रमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की, निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदमबहादुर खड्का लगायतले एक्स्पो सफलताको शुभकामना दिएका थिए ।
प्रर्दशर्नीमा नेपाल, भारतसहित अरु विभिन्न देशका गरी कुल २०० बढी स्टल राखिएको छ । त्यसमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ नयाँ प्रविधि, उत्पादन र आविस्कारहरु तथा विश्वभाका मेडिकल टेक्नोलोजी, डाइग्नोष्टिक, ल्यावरेटोरीहरु प्रदर्शनी रहेको छ ।
यस्तै ८०० बढी अन्तराष्ट्रिय ब्राण्ड, एक हजार बढी उत्पादन तथा सेवाहरु एकै स्थानमा प्रदर्शनी हुने भनिएको छ ।
हेर्नुहोस ‘नेपाल मेडिकल सो-२०२६’को फोटोफिचर :









सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

