चिकित्सकमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेपछि भेरी अस्पतालको सेवा पुनः सञ्चालनमा

नेपालगञ्ज, १६ बैशाख । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन्।

घटनापछि चिकित्सकहरूले इमरजेन्सी बाहेकका सेवा ठप्प पार्दै आन्दोलन सुरु गरेका थिए। तर, संलग्न व्यक्तिमध्ये एक जना पक्राउ परेपछि सबै चिकित्सकहरू पुनः ड्युटीमा फर्किएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नीराजन सुवेदीले जानकारी दिएका छन्।

उनका अनुसार चिकित्सकमाथि हातपातको प्रयास तथा दुर्व्यवहार गर्ने दुई जनाविरुद्ध उजुरी दर्ता गरिएको छ । तीमध्ये एक जना पक्राउ परिसकेको छ भने अर्का एक जना हाल किरिया बसेका कारण पक्राउ नभएको उनले बताए।

सोमबार जिल्ला बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर एक समूह अस्पताल पुगेको थियो। उक्त समूहले डा।सुवेदीको कार्यकक्षमै पुगेर हातपातको प्रयास गर्नुका साथै गालीगलौज र दुर्व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ।

त्यसक्रममा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा।राजन पाण्डेलगायत चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

वैशाख ६ गते उपचारका लागि भर्ना भएकी दिलसरा विकको वैशाख १३ गते मृत्यु भएको थियो । घटनालाई लिएर कानुनी प्रक्रिया अपनाउनुको सट्टा चिकित्सकमाथि आक्रमणको प्रयास भएपछि अस्पतालको सेवा प्रभावित बनेको थियो ।

ओपीडी लगायतका सेवा बन्द हुँदा पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित भेरी अस्पतालमा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका थिए। हाल भने सबै सेवा पुनः सञ्चालनमा आएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *